पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले गर्यो सिफारिस

२२ आश्विन २०७७, बिहीबार

विराटनगर। असोज २२

गत बुधबारदेखि नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। २५ हजारभन्दा बढी संक्रमित देखिए पुनः लकडाउन गर्ने सूचना संप्रेषण गरेको स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्था र जनशक्तिले अब नधान्ने भन्दै सरकारलाई लकडाउन गर्न सिफारिस गरेको जानकारी दिएको छ।

गत असोज ७ गते पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले २५ हजार बढी संक्रमित थपिए भने लकडाउन गर्ने जानकारी दिएका थिए। सो संख्यामा संक्रमित बुधबार नै पुगिसकेका छन्। स्वास्थ्य मन्त्रालयले बुधबारसम्म २५ हजार सात सय संक्रमित उपचारका क्रममा रहेको जानकारी दिएको थियो।

गत बुधबार एकै दिन ३ हजार ४३९ संक्रमित थपिएका थिए । सो संख्यामा पहिलो पटक संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अवस्था असामान्य बन्न थालेको भन्दै सरकारलाई पुनः लकडाउन गर्न सुझाव दिएको बताए।

स्वास्थ्य संस्था र जनशक्ति अभाव भई थप जोखिम नहोओस् भन्दै सरकारलाई सुझाव दिइएको र सरकारले सो निर्णय गर्ने संभावना अधिक रहेको पनि आधिकारीले जिकिर गरे।

उता सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने अब कुनै हालतमा लकडाउन नहुने बताउँदै आएका छन् । बुधबार मात्र सरकारले देशभरका अवरुद्ध सबै खालको परीक्षा सञ्चालनलाई औपचारिक निर्णय दिएको थियो।

चाडपर्व नजिकिएसँगै संक्रमण दर ह्वात्तै बढ्ने कतिपय आकलन छ भने सरकारका गतिविधि नियाल्द लकडाउन गर्ने पक्षमा भने देखिएको छैन।