थुनामा रहेका सिद्धबाबा कृष्णदासको मुद्धामा सर्वोच्चले गर्यो कैफियत माग

२२ आश्विन २०७७, बिहीबार

सर्वोच्च अदालतले बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदासको मुद्दामा कैफियत माग गरेको छ।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कृष्णदासका बारेमा भएका जिल्ला अदालत र उच्च अदालतले गरेको निर्णयहरूको संयुक्त प्रतिवेदन माग गरेको छ।

गत असोज १८ गते अभियुक्त गिरीको निवेदनमा सर्वोच्चले सो माग गरेको हो। उनी उच्च अदालत विराटनगरको आदेश अनुसार थुनामा रहेका छन्।

सुनसरीको चतरामा भव्य आश्रम बनाएर बस्दै आएका सिद्धबाबा भनिने कृष्णदासलाई आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्ने निर्णय गरेको थियो तापनि धरौटी पनि तिर्न नसक्ने बताउँदै उनी उच्च अदालत गएका थिए। उच्च अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको थियो।

गत कार्तिक ४ गते आफ्नै अनुयायीलाई करणी गरेको आरोपमा उनी पक्राउ परेका थिए। मुटु रोगी रहेको भनी अस्पताल बस्दै आएका गिरी अहिले थुनामा रहेका छन्।

अहिलेसम्म भएको कारबाहीको विवरण अर्थात् कैफियत प्रतिवेदन हेरेर सर्वोच्चले कृष्णदासलाई थुनामै राख्ने वा उन्मुक्ति दिने निर्णय गर्नेछ। ७ देखि १० बर्षसम्म कैद र तीन लाखसम्म धरौटी माग गर्दै पीडीतहरूले मुद्दा दायर गरेका थिए।

गिरीमाथि दोहोरो नागरिकता, सरकारी जमीन दुरुपयोग तथा अवैध रूपमा विदेशी रकम भित्र्याएको आरोप पनि लाग्दै आएको छ।