सेमानन्द हत्या प्रकरणः वडाध्यक्ष धरौटीमा रिहा, अर्का थुनामै

२३ आश्विन २०७७, शुक्रबार

विराटनगर, २३ असोज

उच्च अदालत विराटनगरले ‘कर्तब्य ज्यान’ मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई  धरौटीमा छोडन आदेश दिएको छ । बिहीबार मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश महम्मद जुनैद आजादको संयुक्त इजालशले यादवलाई १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो ।

बिहीबार मुद्दाका प्रतिवादी विराटनगर १८ का वडाध्यक्ष सञ्जय शाहको हकमा भने जिल्ला अदालतकै आदेश सदर गरी उच्चले थुनामै राख्ने आदेश गरेको छ ।

२०७६ माघ २४ गते मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलाशले वडाअध्यक्ष यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । यस्तै त्यसपछि अदालतमा उपस्थित भएका अर्का वडाध्यक्ष पनि पुर्पक्षको लागि जेल चलान भएका थिए ।

हत्या आरोप लागेसँगै गत असारबाट तीन वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएकामध्ये यादव लकडाउनको समयमा सुटुक्क अदालतमा हाजिर भएका थिए । घटनाका आरोपी विराटनगर १४ का वडाध्यक्ष बलदेव यादव भने अझै फरार छन् ।यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडाअध्यक्ष ६५ वर्षीय बलदेव, १८ का वडा अध्यक्ष ३५ वर्षीय साह र जहदा गाउँपालिका १ का वडाअध्यक्ष यादवसहित वडाअध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, ३२ वर्षीय विजय भन्ने शम्भु यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र जहदा १ का ४२ वर्षीय दिनेशप्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए । हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएकोमा फेला पारेको थिएन ।

घटनाका सबै आरोपी फरार रहेकोमा दिपेश यादव गत वर्षकै भदौ १८ गते मोरङ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले असोज १० गते ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि पुर्पक्षको लागि दिपेश कारागार चलान भएकोमा दिपेशले पुस १९ गते उच्च अदालतमा ७३ नम्बर गरेकोमा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो ।

२०७७ असार १८ गते दिपेश सर्वोच्च अदालतबाट साधरण तारेखमा छुटेका छन् । सो मुद्दामा अन्य ७ जना प्रतिवादी अझै फरार छन् । उनीहरू भारततर्फ रहेको बुझिएको छ ।बिहीबार उच्च अदालतमा पेशी चढेपछि पीडित परिवारले प्रतिवादीहरूलाई जिल्लाको आदेश सदर गर्न माग राख्दै नाराबाजी पनि गरेका थिए ।