वर्ल्डलिंकले फेसबुकसित मिलेर नेपालका ७५०० सार्वजनिक स्थानमा एक्प्रेस वाइफाइ सुचारु गर्ने

२३ आश्विन २०७७, शुक्रबार

फेसबुकले नेपालमा वर्ल्डलिंकसँगको सहकार्यमा एक्सप्रेस वाइफाइ वितरणको घोषणा गरेको छ। नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकसँग मिलेर ७५०० स्थानमा वाइफाइ वितरण गर्ने जानकारी दिएको छ।

हिजो आयोजित पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकसँग सहकार्य भएको आधिकारिक घोषणा गरेको हो। वर्ल्डलिंकका अनुसार फेसबुकले उपलब्ध गराउने उक्त एक्सप्रेस वाइफाइ विभिन्न सार्वजनिक स्थानमा उपलब्ध गराइनेछ।

फेसबुकले नेपाल र भारतका इन्टरनेट प्रदायक विभिन्न कम्पनीहरूसित शहकार्य गर्दै आएको छ । नेपालमा वर्ल्डलिंकले फ्री इन्टरनेट बाँड्न सुरु गरेको दुई बर्ष पुगिसकेको छ। कम्पनीका सिइओ केशव नेपालका अनुसार यसले थप सहयोग पुग्नेछ।

एकपटक कनेक्ट गराएपछि दुई घण्टासम्म चल्ने गरी राखिने सो वाइफाइ हाइ स्पीडमा चल्नेछ। हाल फोरजी सेवाका रूपमा चल्ने नेटवर्कभन्दा यो तीव्र गतिको हुनेछ।

गरीब तथा विपन्न वर्गलाई सञ्चारको पहुँच पुर्याउने उद्देश्यले सुचारु गरिने उक्त सेवाले नेपालका करीब २० लाख जनता लाभान्वित हुने लक्ष्य लिएको वर्ल्डलिंकले जनाएको छ।

कुन कुन स्थानमा राखिने भन्ने बारेमा सर्वेक्षण गरिरहेको पनि वर्ल्डलिंकले जनाएको छ।