एउटा सच्चा कविको मलामी बनेर रुने लाखौं आँखाहरू हुन्छन् !

२३ आश्विन २०७७, शुक्रबार
देखिन्छन् मणितुल्य पित्तलहरू छोपिन्छ सच्चा मणि
आना अक्षर-खेतभित्र महँगा बिक्छन् बिघा टिप्पणी ।
जो हो लेखक पत्रकार छ उही आफै समालोचक
आफ्नै डम्फु बजाउँदैछ उसले छन् नृत्य झन् रोचक  ।।

प्रस्तुत कवितांश कवि हिरा भट्टकाे गुट गुफा कविताबाट समुद्धरण गरिएकाे हाे । पश्चिम बैतडीकाे पञ्चेश्वर-६,बिजुलमा वि.सं. २०३९/०६/२५ मा जन्मिएका कवि भट्ट हाल बुटवल,रुपन्देहीमा जागिरे जीवन बिताइरहेका छन् । हालसम्म कुनै कविता कृति प्रकाशन नगरेर पनि छन्द कवितामा चर्चा बटुलेका कवि भट्टले हिराकाे हताैडा बिम्बात्मक नारा अघि सारी समसामयिक बिषयमाथि हिर्काउने गर्छन् । करीब डेढ दर्जन जति कविता लेखेर परिचय बनाएका कवि भट्टले महाकाव्य तथा खण्डकाव्यकाे पाण्डुलिपि तयारी गरिरहेका छन् । 

उनै कवि हिरा भट्टलाई हाम्राे विराटनगरकाे साप्तहिक श्रृङ्खला स्रष्टा र साहित्यकाे बसाइमा भलाकुसारीका लागि निमन्त्रण गरिएकाे छ ।

हाम्राे विराटनगरका संपादक अभिमन्यु अभिजितले वहाँसँग गर्नुभएकाे शुक्रबार-संवादकाे संपादित अंश –

प्रश्न १. आराम मंगल हुनुहुन्छ? दिनहरू कसरी बिरहेका छन्?

  • कुशल छु । चौतर्फी कोरोनाको भयले विश्व नै आतंकित हुँदा सिर्जनात्मक पाटोतिर नै बढी क्रियाशील छु।

२. तपाईंलाई कवि भनेर मुक्तकण्ठले पढ्नेहरू पूर्वतिर पनि असंख्य मात्रामा छन्। आफूलाई कसरी चिनाउनु हुन्छ?

  • कविता लेख्न थालेको छोटो समयमा नै धेरै जनाले माया गर्नुहुन्छ मेरा रचनाहरूलाई।सामाजिक संजालले गर्दा विश्वभरका लाखौं पाठक/दर्शकहरूमा रचना पुग्दा खुसी छु।सदैव प्रिय पाठक/दर्शकहरूको यस्तै हौसलाको अपेक्षा गरेको छु।जन्मस्थल सुदूरपश्चिम भए पनि पूर्वी नेपालका हजारौं शुभचिन्तकहरू पाउँदा धेरै खुसी छु।

३. हिराको हतौडा भनेर तपाईं चोटिला शब्दहरूले कसैलाई ठटाइरहनुहुन्छ। “छोटा भाइ इन्डिया” वाला कविता खुब चर्चित भयो। यसको पृष्ठभूमि कसरी तयार भयो?

  • समाजमा व्याप्त विकृति विसङ्गतीहरूमाथि छन्द रचना मार्फत ठाडो व्यङ्ग्यात्मक प्रहार नै “हिराको हतौडो” भन्ने मेरो नयाँ एकल अभियान हो।अहिले धेरैजना पाठकहरूले मन पराएको यो अभियान निरन्तर रूपमा अगाडि बढाउन मलाई ठुलो प्रेरणा मिलेको छ।”छोटा भाइ इन्डिया”भारतले नेपालको सीमा अतिक्रमण विरुद्ध हिन्दी भाषामा लेखिएको मेरो पहिलो छन्द कविता हो जुन कविताले छोटो समयमै बीसौं लाख दर्शकहरूको माया पायो।छन्दमा फरक फरक प्रयोग रुचाउने मेरो बानी छ।कसैलाई सम्झाउन/बुझाउन उसैको भाषा प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता स्वरूप “छोटा भाइ इन्डिया” लेखिएको हो।

 

४. कविता रसानुभूतिको माध्यम नभएर समाजलाई झक्झकाउने साधन पनि रहेछ। चर्चा कमैले पाउँछन्, यो संयोग हो कि कमजोरी?

  • कवितामा देश काल र परिस्थिति लेखिनुपर्छ।समाजका हरेक पक्षलाई कवितामा समेट्न सकिन्छ।मनोरञ्जनको साधन मात्र होइन कविता,कविताले सिङ्गो समाज रूपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।जहाँ सम्म चर्चाको कुरा छ,अहिलेको प्रविधिको युगमा समाजिक सञ्जालहरू कविताको विश्वाव्यापिकरणमा वरदान सिद्ध भएका छन्।राम्रो लेखकलाई एक न एकदिन समाजले चिन्छ नै।काल्पनिक भन्दा पनि यथार्थता समेटेर लेखिएका कविता धेरैले रुचाउने गरेका छन् ।

 

५. युवाहरूमा विस्तारै छन्दको प्रभाव बढ्दो छ भने गद्यमा लेख्नेहरू पनि उत्तिकै मात्रामा छन्। गद्य कविताका बिषयमा यहाँको धारणा के छ?

  • .हो छन्द कवितामा आजभोलि नयाँ पिढीको आकर्षण बढ्दो छ भने गद्यकविताप्रति पनि लगाव उत्तिकै छ।छन्द वा गद्य जुन शैलीमा लेखिए पनि कविता लेखिनुपर्छ।शब्दको थुप्रोलेमात्र कविता बन्दैन।लय सौन्दर्य र सामाजिक,दार्शनिक चित्रण कवितामा अपरिहार्य हुन्छ।आफूले छन्द कवितामा मात्र कलम चलाए पनि गद्य कविताप्रति मेरो उत्तिकै सम्मान छ।

 

६. तपाईंको कविताका बिषयमा आगामी यात्रा के हुनसक्ला?

  • .मैले आजसम्म झन्डै २०० छ्न्द कविता सामाजिक सञ्जाल एवं विभिन्न पत्रपत्रिका मार्फत प्रकाशित गरिसकेको छु।’मालती’ र ‘कलममा कर्णाली’ दुइटा खण्डकाव्य लेखन सकिसकेको छु।छिट्टै प्रकाशित गर्नेछु।एउटा महाकाव्य पनि आधा जति पुर्‍याएँ।हेरौँ समयले साथ दिएमा छिट्टै पाठकसामु प्रस्तुत गर्ने नै छु।

 

७. कविता लेख्दै गर्दा तपाईंले पाएका प्रतिक्रिया र हिरा भट्टबाट अरूले पाउने सन्देश के हुनसक्ला?

  • मैले चिनी र नीम दुबै किसिमका प्रतिक्रिया पचाउँछु।मलाई चिनी भन्दा नीम मन पर्छ।जुम्रा बनेर टाउकोमा टोक्ने धेरैजसो लेखकहरूबाट मैले नीम पाएर औसधिको रूपमा सेवन गर्ने गरेको छु।मबाट सिक्न चाहनेहरूको निम्ति केही वाक्यांश भन्छु ल -सर्जकको डिग्री,योग्यता हेरेर बल्ल रचना हेरिनुहुन्न। रचनाले पो सर्जकको डिग्री निर्धारण गर्छ।डाक्टर डिग्री लिएका धेरैजसो बिरामी सर्जकलाई मैले खुला चुनौती दिएको छु धेरैपटक र दिनेछु -पुस्तक छपाएर महँगो मुल्यका भूमिका लेखाइनु हुन्न।भूमिका त पाठक/दर्शकले लेख्छन् सर्जकको बारेमा आफ्नो मनको सेतोपाटीमा -पुस्तक छपाउन हतार गर्नुहुन्न। ३०/४० वटा कविताको संग्रह निकालेर सित्तैमा बाँड्ने र देखावटी खादा र माला लगाएर आफूले आफैंलाई वरिष्ठ भनी प्रचार गर्ने धेरैजसो सर्जकको कन्दनी खुस्किएको पनि मैले देखेको छु र खुस्काउने काम पनि गर्छु म -पार्टी वा दल विशेषको पूर्वाग्रही बनी कलम चलाउनु हुन्न।कसैले पुज्ने ढुङ्गालाई कसैले कुल्चेर पनि हिँड्छ।कलमले सत्य बोल्नुपर्छ आदि आदि आदि …….हाहा(हाँसो मिश्रित प्रतिक्रिया)

८. कविता कोरिए बापत के पाइयो जस्तो लाग्छ जीवनमा? हर कोही कविता लेखेर बाँच्छु भन्यो भने सकिएला?

  • म भन्छु के पाइएन कविता लेखेर?मेरो प्रतिप्रश्न रहन्छ यो।समाजको ऐना बनाएर लाखौं पाठक/दर्शक शुभचिन्तक पाउनु चानचुने कुरा होइन।एउटा सम्पन्न अर्ब/खर्बपति मर्दा सायद २/४ सय मान्छे रोलान्।एउटा सच्चा कविको मलामी बनेर रुने लाखौं आँखाहरू हुन्छन्।पैसाले किन्न नमिल्ने अमूल्य सम्पत्ति दिन्छ कविताले।
    दोस्रो तपाईंको प्रश्नमा मेरो उत्तर- मज्जाले बाँच्न सकिन्छ लेखेर।लेखेर बाँच्न गार्‍हो छ भन्नेहरूलाई म आफै उदाहरण बनेर छिट्टै प्रमाणित गर्नेछु।मेरो पुस्ताले लेखेर मान्छे भोको बस्नु पर्छ भन्ने पुरानो बुर्जुवा सोचाइ त्याग्नुपर्छ। कलमको क्रान्ति हुँदैछ ।

 

९.छन्द कवितामा जीवन बिताएका अनेक स्रष्टा नेपालले पाएको छ। तपाईंले सम्झनु पर्दा कस्को नाउँ अघि आउँछ?

  • म त लक्ष्मीप्रसाद देवकोटाको भक्त हुँ। जुँगा चलाएँ । आफैं बुझ्नुहोला कुरा !

 

 

१०. अन्तिममा मैले छुटाएको र हजुरले थप्नुपर्ने केही छ कि?

  • सिन्धुरूपी कविताको यो विन्दु सम्बाद न हो।अहिलेलाई यत्ति नै। म खासै सिद्धान्तका कुरा गर्दिनँ र आफूले देखे भोगेका कुरा भन्न/लेख्न डराउन्नँ पनि । कलमले सदैव सत्यको साथ दिनुपर्छ भन्ने मैले आत्मसात गरेको गोरेटो हो।

 

समकालीन कविताको क्षेत्रमा व्याप्त एउटा महामारीलाई कविता मार्फत सम्बोधन गरिएकाे कविता –

छन्द: शार्दूलविक्रीडित

——– गुट गुफा ———-

डिग्री डाक्टरको लिई कलमको टुप्पो बिरामी रहे

सस्ता शब्द बजार भाउ नमिली घर्रातिरै थन्किए

पैँचोमा जुन मिल्दछन् निरस ती खादा र माला गन

संस्था खोल अनेक शब्दगुटका अध्यक्ष आफू बन ।१।

 

सक्दैनौ जब गोरु जोत्न गुटका काला गुफामा पस

बोका जोत र ऐतिहासिक भनी ढ्याङ्ग्रो ठटाई बस

हार्छन् राष्ट्रिय खेलसम्म नपुगी तिम्रा जसै पाइला

अन्तर्राष्ट्रिय खेल जित्छु म भनी छाती फुला माइला ।२।

 

मार्दैछौ गुटभित्र सूक्ष्म कमिला भन्छौ सिकारी बनेँ

निर्धो हो भन सामु ढाल्दछ सिधै राँगो कसैले भने

जो बुच्चो क्षमताविहीन गुटमा पस्दै बन्यो ऊ हिरो

लागे लस्कर लामबद्ध उसकै तालीहरू ओइरो ।३।

 

देखिन्छन् मणितुल्य पित्तलहरू छोपिन्छ सच्चा मणि

आना अक्षर-खेतभित्र महँगा बिक्छन् बिघा टिप्पणी

जो हो लेखक पत्रकार छ उही आफैँ समालोचक

आफ्नै डम्फु बजाउँदैछ उसले छन् नृत्य झन् रोचक ।४।

 

ताली पाउँछ मख्ख पर्छ गमला रोपेर झुक्ने लता

रोप्छन् अक्षर जो बिघा जमिनमा ती रोज्दछन् मौनता

ऐना भन्छ वसन्त आगमनमा चल्नेछ चर्को हुरी

फुस्केला कस कन्दनी बल गरी ए जालकी माकुरी ।५।

 

————