भ्रामक समाचार सम्प्रेषण बारे मोरङ जिल्ला बार एसोसिएसनको आपत्ति (विज्ञप्ति सहित)

२३ आश्विन २०७७, शुक्रबार
फाइल तस्वीर

बिराटनगर, २३ असोज

मोरङ जिल्ला बार एसोसिएसनले जबर्जस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत मोरङले धरौटीमा रिहा गरेको समाचार प्रकाशित भएको प्रति आपत्ति जनाएको छ। अदालतको इजालस नंबर ०७ बाट मिति २०७७-०६-१६ गते भएको मुद्दा नंबर ०१६२ को करणीसम्बन्धी मुद्दामा विभिन्न सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको हो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै बारले उक्त समाचारले ध्यानाकर्षण भएको जनाएको छ। बारले अदालती मर्यादामा खलल पुगेको तथा अनधिकृत रूपमा सूचना चुहावट गरिएको र त्यस्ता व्यक्तिको पहिचान गरी कारबाहीको माग गरेको छ।

बारले स्वतन्त्र न्यायालय, न्यायाधीश तथा न्यायका उपभोक्ताको प्रतिनिधित्व गर्ने कानून व्यवसायीहरूको स्वतन्त्रतामा आँच आउँने कुनैपनि कार्यलाई निरुत्साहित गर्न समेत भनेको छ।

अदालती विचाराधीन मुद्दाको बिषयमा अनर्गल प्रचार तथा नकारात्मक प्रभाव पर्ने गरी अदालतको अपहेलना भएको पनि भनिएको छ।

बारका सचिव नागेश्वरप्रसाद सिंहले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सञ्चार माध्यमले आफ्नो मर्यादा र दायित्व बोध गर्नुपर्ने र मुद्दाको बिषय शीर्षकका आधारमा गोपनीयता कायम राख्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था रहेको भन्दै त्यस्ता गोपनीय मुद्दा गोप्य राख्न पनि भनेको पाइन्छ ।