कोरोना लागेकाहरू अनिवार्य आइसोलेसन नबसे ६ महिना जेल

२३ आश्विन २०७७, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेशन नबसेकाहरूलाई ६ महिना जेल सजाय हुने बताएको छ।

नियमित पत्रकार भेटघाटमा प्रवक्ता डा. जागेश्वर गौतमले पोजिटिभ आएका व्यक्ति आइसोलेशन नबसेको, बाहिर हिँडेको र अरूको सम्पर्कमा आएको भेटिएमा संक्रामक रोग ऐनअनुसार ६ महिनासम्म जेल सजाय हुने व्यवस्था रहेको जनाए।

गौतमले गृह मन्त्रालय र जिल्ला प्रसासन कार्यलयमा समेत सूचना गरिसकेको हुँदा आइसोलेशनमा नबस्ने व्यक्तिहरूलाई पक्राउ गरी सजाय दिन अनुरोध गरिसकिएको बताएका हुन्।

उनका अनुसार घरपरिवार तथा छिमेकीले समेत अनुगमन गरी पत्ता लगाइ खबर गर्न अनुरोध गरिएको छ ।

पीसीआर जाँचका लागि स्वाव संकलन गराएपछि रिपोर्ट नआएसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।