विराटनगरमा ३० शैयाको आइसोलेसन बनाएर प्रदेशलाई हस्तान्तरण

हजार बेडको अस्पताल बनाउने प्रदेश सरकारको निर्णय आश्वासन मात्रै

२४ आश्विन २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

मोरङको विराटनगरमा रहेको लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ ए वानले ३० शैयाको आइसोलेसन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। शनिबार प्रदेशका मुख्यमन्त्री शेरधन राईले रिवन काटेर उद्घाटन पनि गरेका छन्।

विराटनगर १२ मा रहेको सामुदायिक भवनमा निर्माण गरिएको उक्त आइसोलेसनले बेड नपाएर भर्ना नभई मर्नुपर्ने बाध्यतालाई केही कम हुने उद्देश्यले बनाइएको क्लबले जनाएको छ।

दुई वटा तलामा बनेको उक्त आइसोलेसनमा आइसियू तथा चिकित्सकीय र औषधिजन्य कुराको प्रबन्ध प्रदेश सरकारले गर्नेछ।

एक हजार बेडको आइसोलेसन केन्द्र बनाउने घोषणा गरेको प्रदेश सरकारले आजसम्म कहाँ र कहिले बनाउने भन्ने कुरा सार्वजनिक गरेको छैन।

अस्पतालको लागि सुगम मानिने विराटनगरमा नै बिरामीहरूले बेड नपाएर मर्नुपर्ने परिस्थिति आइरहँदा प्रदेश सरकार भने अस्पताल निर्माणको आश्वासन दिएर चुपचाप बसिरहेको छ।