देशभर एक लाख पाँच हजार बढी संक्रमित, कहाँ कति थपिए?

२४ आश्विन २०७७, शनिबार

गत २४ घण्टामा देशभर ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

शनिबारसम्म कुल संक्रमित एक लाख ५ हजार ६८४ पुगेका छन् । तीमध्ये ६१४ जनाको मृत्यु भएको छ । कूल ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । बितेकाे २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति संक्रमित ?

मन्त्रालयले बताएअनुसार काठमाडौं उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।