दुई वर्षमा सोलुखुम्बुबाट फुसको छाना हटाइने

२४ आश्विन २०७७, शनिबार

सोलुखुम्बु, २४ असोज । दुई वर्ष भित्र सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ ।

सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ ।

सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको सङ्ख्या निर्धारण गरेको छ ।

बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् ।

यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । रासस