कोरोना कहर : सङ्कटमा व्यवसायी

२५ आश्विन २०७७, आईतवार
बनेपा, २५ असोज  :

पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आउनुभएको छ । एक वर्ष अगाडिदेखि काम गर्दै आउनुभएका उहाँहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो । पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आउनुभएका उहाँहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा सो ठाउँमा आइपुगेको बताउनुभयो ।

अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने हो । “कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला चुर्पी बनाएर सुकाउने गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।”

खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उहाँ बताउनुहुन्छ । खुवा केन्द्र सञ्चालक अनेत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको उहाँले बताउनुभयो । सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताउनुभयो । रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आइरहुनभएको छ ।

केन्द्र सञ्चालनसँगै केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आउनुभएका उहाँ पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताउनुभयो । कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भएको उहाँले बताउनुभयो ।

उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो । उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उहाँले बताउनुभयो । सो ठाउँमा पनि उहाँले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार÷पाँच जनालाई रोजगारी दिँदै आउनुभएको थियो ।

खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको उहाँले बताउनुभयो । “व्यवसाय राम्रो चले पनि कोरोनाको कारण व्यवसाय सङ्कटमा परेको छ”, उहाँले भन्नुभयो, “अब पहिलाकै अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्छ । सो ठाउँमा उहाँले रु ६० हजार लगानीमा खुवा उत्पादन केन्द्र शुरु गर्नुभएको थियो । रजबासमा भने रु ३५ लाख लागतमा खुवा उत्पादन केन्द्र स्थापना गरेको थापा मगरले बताउनुभयो ।

दुई ठाउँमध्ये रजवासको भने जसोतसो सञ्चालन भइरहेको उहाँको भनाइ छ । यसअघि त्यहाँ उत्पादन भएको खुवा चिस्यान केन्द्रमा राखेको अवस्थामा राम्रो व्यवस्थापन मिलाउन नसक्दा बिग्रेपछि बङ्गुरलाई दिनुपरेको उहाँले बताउनुभयो । अहिले पछिल्लो समयमा रजबासमा थोरै मात्रमा खुवा बनाएर अरु छुर्पी बनाएर राखेको उहाँले बताउनुभयो ।

जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ । दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।(रासस)