श्रीराम सुगर मिल्सबाट भुक्तानी नपाएपछि उखु किसान गए संसदीय समितिमा

२५ आश्विन २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

रौतहट जिल्लामा रहेको श्रीराम सुगर मिल्सबाट किसानहरूलाई भुक्तानी नदिएपछि उनीहरू संसदीय समितिमा भुक्तान मिलाइन आग्रह गर्न पुगेका छन्।

प्रतिनिधिसभामा रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार किसानहरूले ज्ञापन पत्र बुझाई उक्त मिलबाट आफूले पाउनुपर्ने भुक्तान रकम दिलाइदिन गुहार गरेका हुन्।

आइतबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा पुगी उखु उत्पादक संघका सभापतिको टोलीले सभापति बिमलप्रसाद श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएका हुन्।

उखु मिल्स बन्द भएको सूचना प्रकाशित गरी बन्द भएको मिल्सले किसानलाई रकम भुक्तान गर्न नसक्ने बताउँदै आएको छ ।

उद्योगले किसानको करीब ४१ करोड र श्रमिक तथा कर्मचारीलाई दिनुपर्ने ४ करोड बराबर रकम भुक्तान गर्न बाँकी छ।

तराईका मिल्सहरूले किसानहरूको रकम भुक्तान गर्न आनाकानी गर्दै आएका छन्। केही बर्ष अघि पनि किसानहरूले भुक्तान पाउन आमरण अनसन तथा काठमाडौं पुगेर आन्दैलन नै गर्नुपरेको थियो।