भारतीय हात्तीको नेपालमा आतङ्क

२६ आश्विन २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

बर्दिया, २६ असोज

मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जङ्गलबाट आएको जङ्गली हात्तीले धान खेतमा आतङ्क मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले धान काटेर खेतमा सुकाएको सबै धान राति सखाप पारिदिएका छन् । मधुवन नगरपालिका– ३ का दिनेश चौधरीले भन्नुभयो ‘एक दिन घाममा सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेका थिएँ, भोलिपल्ट बिहान जाँदा सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछ ।

हात्तीले दिनदिनै आएर जुनसुकै समयमा धान खान सक्ने भएपछि यन्त्र लगाएरै भए पनि काँचै धान काट्न शुरु गरिएको मधुवन –३ का धनीराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष भारतीय सीमावर्ती जङ्गलबाट आउने हात्तीले क्षति गर्ने भए पनि रोक्न कुनै प्रयास गरिएको छैन ।

हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको शुरुआत गरिएको खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले बताउनुभयो । (रासस)