भारतबाट कपडा  तस्करी रोकिएन, एकैदिन दश लाख बढीकाे कपडा बरामद

२६ आश्विन २०७७, सोमबार
विराटनगरस्थित भारतीय सीमा नाका जेागवनी , फाइल तस्वीर

मोरङको विराटनगरसित जोडिएको नाका जोगवनीबाट कपडा तथा खाद्यान्नमा तस्करी झन् मौलाउन थालेको प्रहरीले जनाएको छ।

चाडपर्व नजिकिएपछि लुकाई छिपाई नेपाल भित्र्याउने गिरोह सक्रिय बनेर लागिरहेको छ।

प्रहरीले विराटनगरबाट करीब सात लाख बराबरको कपडा बरामद गरेको छ। प्रायः भारतीय व्यापारी र नेपाली गिरोहहरूको सञ्जाल छ। थोरै थोरै कपडा भने सर्वसाधारणलाई किनेर ल्याउन छुट छ।

तर रातभर मोटरसाइकलमा ओसारेर नेपालका व्यापारी समक्ष भारतीयले नै ल्याइदिने गरेको प्रहरीले बताएको छ। यसपाली जोगवनीबाट भारतीय बजार जानेलाई क्वारेन्टीन राख्ने नियम बनाइएपछि रातारात नेपालतिर तस्करी बढिरहेको प्रत्यक्षदर्शीको भनाइ छ।

आइतबार विराटनगरभर कपडा तस्करी र प्रहरीको लुकामारी जस्तै चल्यो। दर्जनौं पटक ओसारपसार गर्दा समेत कोही बेपत्ता भए भने कोही समातिए।

आइतबार दिनभर प्रहरीले करीब दश लाख बराबर सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईको भनाइ छ।