नक्कली जग्गाधनी बनेर जग्गा ५० लाख रुपैयाँ बैना लिई बिक्री गर्न खाेज्ने पक्राउ

२६ आश्विन २०७७, सोमबार

राजधानीमा नक्कली जग्गाधनी बनी अर्काकाे जग्गा बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिने एक युवक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मालपोतका कर्मचारीसँगको मिलेमतोमा अर्कै जग्गाधनी खडा गरी पर्साकाे वीरगञ्जमा रहेकाे ५ कठ्ठा १५ धुर ९ कन्वा जग्गा बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएका ललितपुर कुसुन्तीका केवल प्रताप जंगबहादुर राणालाई पक्राउ परेका हुन् ।

राणाले पर्साकी  कमलादेवी राजभण्डारीको नाममा वीरगञ्ज महानगरपालिका- ५ मा रहेको उक्त जग्गा मालपोतका कर्मचारीसमेतको मिलेमतोमा मुकेश राजभण्डारीको नाममा २०७६ फागुन १९ गते राजीनामा पास गराएकाे खुलेकाे छ ।

उक्त जग्गा वीरगञ्ज महानगरपालिका-४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएको सीआईबीले खुलाएकाे छ।

राणाले आफ्नो नाममा मुकेश राजभण्डारी, उमेर ५० वर्ष र ठेगाना ललितपुर महानगरपालिका ३ कायम गरी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट दाेहाेराे नागरिकता पनि लिएको खुलेको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले बताएका छन् ।

उनीविरुद्ध राजीव राजभण्डारीले लिखत/ठगीसम्बन्धी कसूर मुद्धामा जाहेरी दिएकी थिइन् ।