सुन तस्करीमा संलग्न रहेकाे आरोपमा एक जना भारतीय नागरिक विरुद्ध मुद्दा दायर

२६ आश्विन २०७७, सोमबार

एक जना इण्डियन नागरिक विरूद्ध राजश्व अनुसन्धान विभागले दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। अभियुक्त रुपन्देही सिद्धार्थनगर-१२ स्थित सोनी ज्वेलर्सका प्रोप्राइटर तथा सोनी गोल्ड एन्ड सिल्भर प्रा.लि.का सञ्चालक सुनिल सोनी रहेका छन् ।

साेनीलाई सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले बताएकाे छ ।

नेपाली नागरिकतासमेत लिएका उलने तुलसीपुरमा सुनिल सुनारको नाममा गतिविधि गर्दै आएको पनि खुलेकाे छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार मुद्दामा सिद्धार्थनगर-६ का अमित परियारलाई पनि प्रतिवादी बनाइएको छ।

परियारले सोनीलाई हरेक गतिविधिमा सहयोग गर्दै आएका थिए । त्यसैले मतियारको रुपमा मुद्दा दायर गरिएको मैनालीले जनाएका छन् ।

सोनी राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीद्वारा बुटबल उपमहानगरपालिका वडा नम्बर ११ बाट ७५ लाख रुपैयाँ नगदसहित असार ३० गते पक्राउ परेकाे विभागले जनाएकाे छ।

अनुसन्धानका क्रममा उनले सुन चाँदीको अवैध आयात-निर्यात तथा बिक्री कारोबार गर्ने गरेको खुलेको बताइएकाे छ ।

भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख ३८ हजार ८७० र आयकरतर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ छली गरेको अनुसन्धानबाट खुलेको छ ।