नक्कली डाक्टर बनेर बिरामीको उपचार गर्ने वीरगञ्जबाट पक्राउ

२७ आश्विन २०७७, मंगलवार

२७ असोज, वीरगञ्ज ।

नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह हुन् ।

असोज २३ गते नै पक्राउ गरेको भएतापनी प्रहरीले असोज २६ गते सार्वजनिक गरेको छ । अल्ट्रा साउण्ड सेन्टर, वीरगञ्ज–२ मा अभियुक्तले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीकोमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवर अनुसार डाक्टरको नाममा प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको हो ।

‘सीएमए मात्रै पढेका उनले डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएका रहेछन् ,’ उनले भने, ‘गुनासो आएपछि पक्राउ गरेर ल्याएका छौं । कारबाही प्रक्रिया अघि बढेको छ ।’