विराटनगरमा आइपिएल सट्टेबाजीले बन्दक बनाएर कुटपिटसम्म

२७ आश्विन २०७७, मंगलवार

युएईमा चलिरहेको आइपीएल खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरमा तीन जना पक्राउ परेको घटना सेलाउन नपाउँदै अर्को त्यस्तै घटना प्रहरी समक्ष आइपुगेको छ।

सट्टा-बाजीको रकम लिने उद्देश्यले व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ११ का रोनल कँडेल रहेको प्रहरीले जनाएको छ।

सिंघले फेसबुक लेखेको स्टाटस

विराटनगरकै सन्जय सिंघलाई सट्टा-बाजीको रकम लिने उद्देश्यले बन्दी बनाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कँडेल तरुण दलसँग निकट रहेको पनि खुलेको छ। बिहीबार साँझ कँडेलसित भेटघाट गर्न पुगेका सिंघलाई कँडेलले कृष्ण पार्टी प्यालेसमा लगी कुटपिट गरेको खुलेको हो।

 

कँडेलले जबर्जस्ती आठ लाखको चेकमा हस्ताक्षर गर्न लगाएको, होटलको ५० हजार तिर्न लगाएको र कुटपिट गरेको कुरा सिंघले फेसबुकमा लेखेपछि घटना बाहिरिएको थियो।

 

विराटनगर प्रहरीले भने सट्टा-बाजीमा हारेको रकम लेनदेनमा घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुरेको जनाएको छ। दुवै जना सट्टा-बाजीका खेलाडी रहेको प्रहरीले बताएको छ।

पक्राउ परेपछि स्वास्थ्य समस्या आएर कँडेल हाल नोबेल अस्पताल भर्ना भएका छन्। कँडेललाई उपचारपछि हाजिर हुने गरी छाडिएको छ।