विराटनगरमा एक हजार बेड अस्पताल फण्डा- सरकारले जनतालाई झुक्याएको कांग्रेसको आरोप

२७ आश्विन २०७७, मंगलवार
तस्वीर- दिवस राजवंशी

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल कांग्रेसले विराटनगरमा एक हजार बेडको अस्पताल बनाउने भनेर प्रदेश सरकारले जनतालाई झुक्याएको आरोप लगाएको छ। मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सरकार जनताप्रति जिम्मेवार नभएको भन्दै हजार बेडको अस्पताल १५ दिनभित्र निर्माण गर्न समेत माग गरेको छ।

उक्त पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला तथा प्रमुख सचेतक केदार कार्कीले तत्काल कोरोना कहरलाई प्राथमिकतामा राखी हजार शैयाको अस्पताल बनाउन माग गरेका हुन्।

कोइरालाले मुलुकले यति लामो लकडाउन झेलिरहँदा प्रशस्त समय थियो तापनि असक्षम सरकारले बेवास्ता गरेको भन्दै अकर्मण्य नबन्न आग्रह गरे।

प्रदेशकै मुख्य हटस्पट बनिरहेको विराटनगरमा रहेको सरकारले यो खालको उदासीनता देखाउनु मनासिव नभएको भन्दै सचेतक कार्कीले संकटमा राज्य चुक्दै गएको भान जनतामा परिसकेको बताए।

गत साउन ९ गते भएको पर्देशको बजेट अधिवेशन समाप्त भएको जानकारी दिँदै तत्काल हिउँदे अधिवेशन सञ्चालन गर्न पनि आग्रह गरे।

पर्याप्त आइसोलेसन नै नबनिसकेको अवस्थामा आइसियू तथा भेन्टिलेटरको अभाव झनै रहेको भन्दै सरकार जवाफदेही बन्न आग्रह गरे।

प्रदेश सरकारले भने विभिन्न होटल तथा आवासीय भवनमा रहेका आइसोलेसनको संख्यालाई नै हजार शैयामा गणना गरी जनतामाझ भ्रम पैदा गर्ने गरेको कोइरालाको भनाइ छ।

साउनको अन्तिम हप्तामा नै बनाउने निर्णय भएको अस्पतालमा कुनै व्यवधान नभएपनि सरकार बेचैन रहेको स्मरण गराउँदै कार्कीले सरकार गैरजिम्मेदार बन्दै गइरहेको प्रति आक्रोश व्यक्त गरे।

प्रस्तुत छ कांग्रेसले पत्रकार सम्मेलनमा व्यक्त गरेको प्रेस विज्ञप्ति –

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार बन्धुहरू
हार्दिक जय नेपाल ।
छोटो समयमा गरिएको हाम्रो निमन्त्रण स्वीकार गरेर यहाँ उपस्थित हुनुभएका सबै सञ्चारकर्मी मित्रलाई म हार्दिक स्वागत गर्दछु ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अहिलेको समाज, राष्ट्र र संसार नै खलबलिएको अवस्थामा पुगेको छ । मानव जीवन अस्तव्यस्त भएको छ । म मूलतः हाम्रो प्रदेश नम्बर १ मा केन्द्रित हुन चाहन्छु ।
यो प्रदेश कोरोना सङ्क्रमणको हट स्पट बनेको छ । दिनानुदिन अनपेक्षित रूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सरकारी कार्यक्रम र समारोह होस् वा गुदरी, शहर, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको ख्याल गरेको देखिँदैन । मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन् । अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ ।
म यहाँहरूलाई के स्मरण गराउन चाहन्छु भने साउनको अन्तिम हप्तामा यस प्रदेशका माननीय मुख्यमन्त्री श्री शेरधन राईजीले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गर्नुभएको थियो । यो घोषणा उहाँले सार्वजनिक रूपमा गर्नुभयो । राजनीतिक दलहरूको बैठकमा पनि गर्नुभयो र सञ्चारमाध्यमबाट प्रचार–प्रसार पनि गर्न लगाउनु भयो । तर आज कहाँ छ कोभिड अस्पताल ?
अर्कातिर भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेशमा कोभिड–१९ का बिरामीहरू घरघरमै छटपटाएर मरिरहेका छन् । प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन । मुख्यमन्त्री र अन्य मन्त्रीहरू सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन् । प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करूणा देखिएको छैन ।
मित्रहरू,
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएका छन् । कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेका छन् । कोभिड–१९ का बिरामीले सामान्य न्यूनतम उपचारसमेत नपाउने अवस्था उत्पन्न भएको छ । नोबेल, न्यूरो र विराट जस्ता निजी क्षेत्रका अस्पतालका भेन्टिलेटर यहाँका बिरामीका लागि अपर्याप्त भएका छन् ।
अत्यधिक बहुमतप्राप्त प्रदेश सरकारबाट हामीले गरेको अपेक्षा चकनाचुर भएको छ । प्रदेशका नागरिक कोरोनाको सङ्क्रमणबाट कोही मरून् वा बाँचून् त्यसको मतलब मुख्यमन्त्री र अन्य कुनै मन्त्रीलाई छैन । प्रदेशको नागरिक उपचार नपाएर आफ्नै घर वा डेराको आइसोलेसनमा अत्यन्त दयनीय र पीडादायी रूपमा मर्न बाध्य छन् तर पनि सरकारको आँखा खुलेको छैन । प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव पनि भएको होइन । अभाव त कार्यशैलीको, कार्यक्षमताको र योग्यताको देखिएको छ ।
यस जटिल परिस्थितिमा हामी १५ दिनभित्र प्रदेश राजधानी विराटनगरमा १ हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गरियोस् भन्ने माग गर्दछौँ ।
अन्तमा यहाँ उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो भनाइ टुङ्ग्याउँदछु । साथीहरू, अब हामी प्रश्नोत्तरमा प्रवेश गर्न सक्नेछौँ । जय नेपाल ।
केदार कार्की
प्रमुख सचेतक, नेपाली काङ्ग्रेस
प्रदेश सभा, प्रदेश नम्बर १
मितिः–२०७७ असोज २७ मङ्गलबार