२५ लाख भारुको चिठ्ठा परेको भन्दै मोटो रकम ठगी गर्ने युवक पक्राउ

२७ आश्विन २०७७, मंगलवार

अमूल आचार्य

सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेका भन्दै ठगी गर्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका–१२ बस्ने २४ वर्षीय अरविन्दकुमार कामती छन् ।

प्रहरीका अनुसार कामतीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय युवकलाई ईमोबाट फोन गरी २५ लाख भारुको चिठ्ठा परेको बताएका थिए ।

चिठ्ठा परेको रकम प्राप्त गर्न नेपाल सरकारलाई तिर्नुपर्ने ट्याक्स बापत भन्दै उनले शुरुमा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन भनेका थिए । त्यसपछि पुनः सरकारी कर्मचारीलाई पनि रकम दिनुपर्ने भन्दै ५५ हजार आईएमई गरेर पठाउन लगाएका थिए ।

पक्राउ परेका कामतीविरुद्ध जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्यादथप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।