फाेनबाट कसैलाई धम्क्याए १५ लाख जरिवाना र एकबर्षसम्म जेल

२९ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

काठमाण्डाैँ । असाेज २९

नेपालमा अबदेखि सञ्चार सेवाको माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने कार्य गरेमा १५ लाख रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद हुनसक्ने भएकाे छ । नेपाल सरकारले तयार पारेको दूरसञ्चार ऐनको प्रारम्भिक मस्यौदामा यस किसिमको व्यवस्था गर्न लागिएकाे बताइएकाे छ ।

गत हप्ता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ऐनको मस्यौदा तयार पारी बोर्डबाट पारित गरी मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएकाे बताइएकाे छ ।सूचना तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालका अनुसार आवश्यक राय परामर्शका आधारमा विधेयक मस्यौदालाई चाँडै मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको छ ।

नेपालमा अहिलेकाे दूरसञ्चार ऐन विगत २४ वर्षदेखि संसोधनविहीन अवस्थामा रहेकाे भन्दै सरकारले उच्च प्राथमिकताका साथ नयाँ ऐनको गृहकार्य थालेको बस्यालले बताएका छन् ।

आगामी संसद अधिवेशनबाट दूरसञ्चार ऐनले अन्तिम रूप पाउने पनि बताइएकाे छ । विधयक परिच्छेद १२ मा कसूर, सजाय र पुनरावेदन सम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त कानून अनुसार दूरसञ्चार सेवा (फोन तथा अनलाइन) बाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने कार्य गरेमा दूरसञ्चार ऐनअनुसार कसूर गरेको मानिनेछ । जसमा सजाय स्वरुप दश लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएकाे छ । यससम्बन्धी विस्तृत खबर टेकपानामा प्रकाशित छ ।