विपी क्याम्पले भर्ना नलिँदा तीन जना स्थनीयकाे ज्यान गयाे

२९ आश्विन २०७७, बिहीबार

धरान । असाेज २१

सुनसरीकाे धरानमा रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नमान्दा तीन पुरुषको मृत्यु भएको छ । ज्यान गुमाउने तीनै जना धरानकै स्थानीय हुन् ।

बारम्बार भर्ना गरिदिन अनुरोध गर्दा पनि चिकित्सकले अटेरी गरी ती पुरुषको उपचार अभावमा मृत्यु भएको जनाइएकाे छ । मृतकहरू धरान ९ का ५८ वर्षीय पुरुष, १५ का ६८ वर्षीय पुरुष र धरान १६ का ६२ वर्षीय पुरुष छन् ।

बुधबार राती निधन भएका धरान १५ का पुरुषलाई श्वास फेर्न समस्या भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि लगिएकाे थियाे तर प्रतिष्ठानले भर्ना नलिएपछि विराटनगरको कोसी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै धरान १६ का पुरुषका आफन्त जय सम्बाहाम्फेका अनुसार प्रतिष्ठानले भर्ना नलिइदिँदा घरमा नै बुधबार राती मृत्यु भएको हाे ।

धरान–९ का वडाअध्यक्ष रत्न कट्वालका अनुसार तीन दिन अगाडि कोरोना पोजिटिभ देखिएका धरान–९ का पुरुषलाई पनि बीपी प्रतिष्ठानले भर्ना नलिएकै कारण उपचार नपाएर निधन भएको थियाे ।

उनीहरूले बीपी कोभिड अस्पतालका फोकल प्रर्सन डा. इन्द्र लिम्बूलाई बारम्बार आग्रह गर्दा समेत संक्रमित बिरामीलाई भर्ना नगरिदिएको गुनासो छ ।

अहिले धरानका स्थनीयले बिरामी भर्ना नगर्ने चिकित्सक र अस्पताल व्यवस्थापन गर्न नसक्ने प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाहीकाे माग गरेका छन् । सय बेडको कोभिड अस्पतलमा बिहीबारसम्म ५६ जना मात्र बिरामी भर्ना भएका छन् ।

सहायक प्रवक्ता डा. आषिश श्रेष्ठले कोभिड अस्पतालमा अक्सिजन अभाव र भेण्टिलेटर अभावका कारण प्रतिष्ठानमा आउने सबै बिरामीलाई भर्ना गर्न नसकिएको बताएका छन् ।

उपचार नपाएर संक्रमित बिरामीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रतिष्ठानको अनुगमन गरेका छन् ।

प्रतिष्ठानको व्यवस्थापन पक्षले धेरै कमजोरी गरेको र सर्वसाधारणको समेत व्यापक गुनासो आएको भन्दै तत्काल स्वास्थ्य सेवा सुधार गर्न मन्त्री घिमिरेले प्रतिष्ठानका चारैजना पदाधिकारीलाई निर्देशन दिएका हुन् । रत्नप्रसाद अाचार्यद्वारा तयार पारिएकाे याे समाचार अन्नपूर्ण पाेस्टमा प्रकाशित छ ।