आफूलाई प्रहरी हुँ भन्दै व्यवसायीबाट रकम असुल्ने एक पक्राउ

२९ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

काठमाडौं । असोज २९

आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको अभियोगमा एकजना पक्राउ परेका छन् ।  काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।

विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएका थिए ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटारबाट पक्राउ गरेको हो ।

खड्काको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।

खड्काबारे थप अनुसन्धान भइरहेकाे समेत प्रहरीले जनाएकाे छ ।