Logo

चिकित्सकको लापरबाहीले ज्यान गुमाएकी महिलाकाे परिवारलाई नाेबेल अस्पतालले ३ लाख दिएर उम्कियाे

Logo 2020-10-15 08-10    Hamro Biratnagar

विराटनगर । असोज २९

गत मङ्गलबार पाठेघरको शल्यक्रिया गर्दा आन्द्रा काटिएर ज्यान गुमाएकी तारादेवी भट्टराईको परिवारलाई नोबेल अस्पतालले तीन लाख क्षतिपूर्ति दिएर उम्किएको छ।

पाठेघरको शल्यक्रियाको लागि आएकी सोलुखुम्बुकी ३५ बर्षीय तारादेवी भट्टराईको शल्यक्रियाकै क्रममा ज्यान गएको थियो। सफल शल्यक्रिया भएको जानकारी दिएर पनि बिरामी हेर्न नदिई आइसियू र भेन्टिलेटर दौडाएका चिकित्सकहरूले अन्ततः बिरामीको मृत्यु भएको घोषणा गरेका थिए।

चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको भन्दै शव नलिई दुई दिन आन्दोलन गरेका भट्टराईका आफन्तलाई नोबेलले खर्च भएको रकम बापत एक लाख र थप दुई लाख थपेर दिएको हो। यद्यपि मृततका आफन्तले छोराछोरीको पठनपाठनको जिम्मा अस्पतालले लिँदै पाँच लाख क्षतिपूर्ति माग गरेका थिए।

डा. शान्ति सुवेदीको टोलीले गरेको शल्यक्रियामा ज्यान गुमाएकी भट्टराईको परिवारलाई क्षतिपूर्ति नभई आर्थिक अवस्था नाजुक रहेको देखेर सहयोग गरेको नोबेलले दाबी गर्दै आएको छ।

शिक्षण अस्पतालको रूपमा रहेको नोबेलले स्वास्थ्य सेवा उत्कृष्ट रहेको बताएपनि अनाहकमा ज्यान गुमाउनेहरू समाचारमा आइरहन्छन्। स्वास्थ्य क्षेत्रमा देखिएको यो खालको लापरबाही बारे सम्बन्धित निकाय तथा नेपाल सरकार सधैँ मौन देखिन्छ।


लोकप्रिय छुटाउनुभयो कि ?