विराटनगरमा तत्काल लकडाउनको योजना छैन – मेयर पराजुली

२९ आश्विन २०७७, बिहीबार

विराटनगर। असोज २९

विश्वभर फैलिइरहेको कोरोना (कोभिड-१९)ले संसार तहसनहस बन्दै गरेको अवस्थामा हाम्रो देश पनि आक्रान्त बनिरहेको छ। छ महिनासम्म लकडाउन झेलेका जनता पुनः लकडाउन हुने हो कि? रोजिरोटीको मेलो खोसिने पो हो कि? भन्ने आशंकामा छन्।

नेपाल सरकारले देशभरका सबै गतिविधि सञ्चालनको अनुमति दिइसकेको छ भने कोरोना पनि समुदाय स्तरमा प्रवेश गरेर संक्रमितको संख्या सवा लाखको नजीक पुगिरहेको परिप्रेक्ष्यमा फेरि लकडाउन हुने हो कि भन्ने पीर जनतामा परिरहेको छ।

करीब चार हजारभन्दा बढी संक्रमण भेटिइसकेको मोरङको विराटनगरमा प्रदेशकै सबैभन्दा धेलै संक्रमित छन्। कोरोना हटस्पटको रूपमा अघि बढिरहेको विराटनगरका जनतालाई फेरि हुने लकडाउनको पनि चिन्ता र बढ्दै गएको संक्रमणप्रति झन् चिन्ता छ।

प्रदेश सरकारले हजार शैयाको सुविधासम्पन्न आइसोलेसन बनाउने बिर्सिएर कुनै आयोजनाको उद्घाटनको रिवन काटेर बसिरहेको भान हुन्छ। संक्रमण बढ्दै गएपछि अस्पतालहरू स्वतः भरिभराउ हुँदै गएका छन्।

तुलनात्मक रूपमा मृतकको संख्या पनि बढिरहेको विराटनगरका जनतालाई रोग र भोकको चिन्ता बढिरहेको छ। यस्तो अवस्थामा महानगरले लकडाउनले गर्ने हो कि भन्ने सर्वत्र शंका बढरहेको छ।

विराटनगर महानगरपालिकाले भने अहिले लकडाउन गर्ने पक्षमा नरहेको बताएको छ। महानगरका प्रमुख भीम पराजुलीले कोरोना संक्रमण रोक्न सबैको भूमिका उत्तिकै रहने हुँदा आफूले मात्र लकडाउन गरेर संभव नहुने बताएका हुन् ।

नेपाल सरकारले नै स्वास्थ्य मापदण्ड पालना गरी सबै गतिविधि सुचारु गरिरहेको परिप्रेक्ष्यमा विराटनगरमा मात्र लकडाउन गरेर सुहाउँदो नहुने उनको भनाइ छ।

कोरोना बारे सबै सचेत बन्न आग्रह गर्दै यसलाई परास्त गर्न स्वास्थ्यका मापदण्ड पालन गरी अत्यावश्यक काम बाहेक हिँडडुल र अन्य गतिविधि नगर्न पराजुलीको आग्रह छ।

नजिकिँदो चाडपर्वले जोखिम बढाउन सक्ने भन्दै आआफ्नै घरमा पर्व मनाउन पनि उनले आग्रह गरे।