सिमानाबाट तस्करी हुन्दा समेत प्रहरी मौन

३० आश्विन २०७७, शुक्रबार
प्रतीनिधीमुल्क तस्विर

कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका छन् ।

विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको छ । विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।नेपालबाट विशेष गरी हरियो र सेतो मटर, कालो मरिच,सुपारी, फेरन लवली, घरेलु जाड रक्सी, मदिरा लगायत ठुलो मात्रामा सुनसरीको भुटाहा बस्मतिया, घुस्की घुरणा, कप्तानगंज फुलकाहा, सिमानाकाबाट तस्करी गरेर भारत लैजाने गरेको छ ।

भारतबाट ठूलो परिमाणमा सुर्ती,लत्ताकपडा विभिन्न किसिमका किराना खाद्यान्न, दशै तिहार नजिकै गर्दा पटका प्याज लसुन आदि नेपालतर्फ दैनिक ५ लाख भन्दा वढीको ल्याउने काममा सीमावर्ति सडक र नाकाहरु प्रयोग भइरहेका छन् ।

सुनसरी जिल्लाको दक्षिणी सिमानाकाबाट दैनिक विगत एक महिनादेखि हजारौं मेट्रिक टन मटर भारततर्फ तस्करी गरेर लगिएको छ।

सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा खाद्य मल र अन्य सामान बरामद गरेपनि दैनिक ठुलो मात्रामा मटर , मदिरा भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् ।