किटको अभावमा महानगरले खर्चिएको लाखौँको पिसीआर मेशीन बन्द

२ कार्तिक २०७७, आईतवार

विराटनगर। कार्तिक ०२

विराटनगर महानगरपालिकाको अगुवाइमा केली महिना अघि खरीद गरिएको पिसीआर मेशीन किट अभाव भएको भन्दै बन्द गरिएको छ। मेयर भीम पराजुलीको सक्रियतामा खरीद गरिएको उक्त मशीनको खर्च अत्यधिक रहेको भन्दै कोशी अस्पतालले सञ्चालन गर्न नसकिने बताएको हो।

प्रदेशमा संक्रमण बढेसँगै महानगरको पहलमा स्थानीय व्यक्तिहरूको सहयोगमा हस्तान्तरित उक्त मेशीनमा हालसम्म २० लाखभन्दा धेर खर्च भइसकेको अस्पतालका मेसु चुमनलाल दासको भनाइ छ।

कोशी अस्पतालको एउटा मेशीन सहित महानगरले दिएको उक्त मेशीन गरी दुईवटा सञ्चालनमा रहेपनि कोरोना भाइरस संक्रमणको रिपोर्ट ढिलो आएको गुनासो बढिरहेको थियो।

प्रतिदिन करीब ९०० परीक्षण हुने आँकलन गरिएको उक्त मेशीन अस्पतालले खर्च धान्न नसक्ने अस्पतालले प्रष्ट पारेको छ। एउटा कीटको मूल्य ७०० पर्ने भन्दै सरकारले सहयोग नगरेसम्म सञ्चालन गर्न कठीन भएको अस्पतालले जानकारी दिएको छ।

हरेक दिन चार सयको अनुपातमा संक्रमण देखिएको प्रदेश १ मा यसले ठूलो प्रभाव पार्ने देखिन्छ। कोरोना रिपोर्ट आउनै हप्ता दिनसम्म लाग्दै आएकाले यसबाट संक्रमण जोखिम पनि बढेको छ। महानागरको पहलमा किनिएको उक्त मेशीन बारे विराटनगर महानगरपालिका भने मौन नै देखिन्छ।