दुर्घटना बढेपछि बुटवलमा सवारी गति नियन्त्रणका लागि राडार गन

२ कार्तिक २०७७, आईतवार
तस्वीर - सेताेपाटी

बुटवल । कार्तिक ०२

सवारी दुर्घटना तुलनात्मक रूपमा बढ्न थालेपछि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रण गर्न राडर गनकाे प्रयाेग सुरु गरेकाे छ । राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले गति नियन्त्रण गर्ने अभियान सुरु गरिएकाे जनाएकाे हाे ।

आइतबारबाट बुटवलकाे कालिकानगरमा राडार गन मार्फत् गति निगरानी गर्ने कार्यको थालनी गरिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । अहिले साना तथा मालवाहक सबै खालका सवारी तीव्र गतिमा चल्नाले दुर्घटनामा वृद्धि हुँदै गएपछि साे अभियान चलाइएकाे बताइएकाे छ ।

कुनै पनि सवारी ६० मिटर अगाडीको दुरीमा आइपुग्दा राडार गनको क्यामेराले नम्बर प्लेटमा फोकस गरेपछि उक्त सवारी साधनको फोटो सहित गति मापन हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले जनाए ।

प्रदेश ट्राफिक प्रहरी लुम्बिनीका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी प्रदेशमा भएका ५२ प्रतिशत सडक दुर्घटनाका कारण तीव्र गति पाइएको थियाे ।

एक वर्षको अवधिमा लुम्बिनी प्रदेशमा भएका ११ सय २२ वटा सवारी दुर्घटनामध्ये ५ सय ७८ अर्थात् ५२ प्रतिशत सवारी दुर्घटना तीव्र गतिका कारण भएको र यो संख्या अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा धेरै रहेकाे विककाे भनाइ छ। भगवती पाण्डेकाे यसबारे सामचार  सेताेपाटीमा प्रकाशित छ ।