गौरादहमा ठेक्का लागेको चार बर्षसम्ममा पनि बाटो नबनेको भन्दै स्थानीय आन्दोलित

अमुल अचार्य

२ कार्तिक २०७७, आईतवार

झापाको गौरादह नगरपालिका प्रधानमन्त्री के.पी. शर्मा ओली निर्वाचित क्षेत्रको नगरपालिका हो । अहिले त्यही गौरादह नगरपालिकाको वार्ड नम्बर १ र २ मा पर्ने बजारबाट पूर्व किष्ने खोला जाने बाटो पिच नभएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । जुन बाटो पिच नएको भनेर आन्दोलन भईरहेको छ , उक्त बाटो पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको घर जाने बाटो पनि हो।

गौरादह,बैगुनधुरा हुँदै कोरोवारीसम्मको ठेक्का सडक बिभागले नागर्जुन बिष्णु जे.भी. कम्पनीलाई ५ करोड ७२लाख ४२ हजार ८सय ८७ रुपैयाँ ४८ पैसामा २०७४ साल बैशाख २५ गते लगाउदा पनि हालसम्म बाटो नबनेकोले आक्रोशित स्थानीयले बाटो बन्द गरेर बिरोध गरेका छन् । `हामीले पहिले पनि पटक पटक संघर्षका कार्यक्रम गरेका हौ , जहिले पनि हामीलाई चाडै बन्छ भनेर आस्वस्त पारिन्छ तर काम हुदैन । यो कोरोनाको हमामारीमा बाटोमा कुद्ने भट्टाका ट्याक्टर र टिपरले धुलो उडाएर सम्पूर्ण गाउँ नै रुघाखोकीको बिमारी छन् , अब हामी के गर्ने ? अरु बिकल्प केही छ ? ´ ओमकार टाईम्स प्रतिनिधिसंग कुरा गर्दै स्थानीय सन्तोष कार्कीले प्रतिप्रश्न गरे ।

`हामीले धेरै चोटि संघर्षका कार्यक्रमहरु गरौं , पटक पटक नगरपालिका गयौं , सडक कार्यालय दमक गयौं , तर केही भएन । जनप्रतिनिधिहरु स्कर्पियोमा हुइकिन्छन् तर हामी धुवा र धुलोमा बस्न बाध्य छौ ।´स्थानीय अशोक कार्कीले ओमकारसंग गुनासो पोखे ।