फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो

३ कार्तिक २०७७, सोमबार

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो सँगै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फर्स्ट माइक्रोफाइनान्स पहिलो बनेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा यसले २ करोड ९७ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०.७२% ले बढी हो । अघिल्लो वर्ष संस्थाले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएसँगै नाफा बढ्न टेवा पुगेको हो । यसअवधिमा खुद ब्याज आम्दानी २४.१९% ले बढेर ५ करोड २७ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा संस्थाले ४ करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा ११.३६% ले बढेर ४ करोड ७१ लख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा संस्थाले ४ करोड २३ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५६ पैसा छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ९४ पैसा छ । जगेडा कोष ८० करोडबाट बढेर ८७ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९.५०% बोनस र ४.१८% नगद गरी कुल १३.६८% लाभांश दिने निर्णय गरेको छ । कम्पनीले प्रस्ताव गरेको ९.५०% बोनसलाई पनि हाल चुक्ता पुँजीमा जोडेको छ । तथापि, सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर भने लागानीकर्ताले साधारण सभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।