विराटनगरमा एकैदिन सात जनाको कोरोनाबाट ज्यान गयो

४ कार्तिक २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । कार्तिक ०३

विराटनगरमा एकै दिन सातजनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। जसमा २ पुरुष र ५ महिला रहेका छन्।

ज्यान गुमाउनेमा कोशी अस्पतालमा रहेको आइसोलेसनमा ३ जना, विराट नर्सिङमा एक जना, न्यूरोमा एक जना, विराट मेडिकल कलेजमा एकजना र नोबेल अस्पतालमा एक जना रहेका छन्।

जसमध्ये विराटनगर – १२ की ६४ बर्षकी महिला रहेकी छन्। उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। होम आइसोलेसनमै बस्दै आएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले कोशीमा ल्याएका थिए।

कोशीमै इटहरीका एकजना ३८ बर्षका पुरुषको पनि निधन भएको छ। होम आइसोलेसनमा रहेका पुरुषमा पनि सोही समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

मोरङकै कटहरीकी २१ बर्षकी युवतीमा पनि कोरोना पोजिटिभ देखिएपछि कोशीमा भर्ना भएकी थिइन् तर उनको उपचारको क्रममा ज्यान गएको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

न्यूरो अस्पतालमा उपचाररत विराटनगर १० की ६४ बर्षकी महिलाको पनि निधन भएको अस्पतालले जनाएको छ।

विराटनगर ७ की ६९ बर्षकी महिलाको समेत नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रबन्धक नारायण दाहालले बताएका छन्।

विराट नर्सिङ होममा उपचारका क्रममा अर्का संक्रमित रङ्गेली – ३ का ८५ बर्षका पुरुष छन्। उनमा ज्वरो तथा श्वास प्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ। त्यस्तै, विराट मेडिकलमा बूढीगंगा गाउँपालिकाकी ७६ बर्षकी महिलाको निधन भएको छ भने उनमा निमोनिया रहेको अस्पतालको भनाइ छ।

सोमबार साँझदेखि मङ्गलबार बिहानसम्म करीब १२ घण्टाको अन्तरालमा सातै जनाको ज्यान गएको बताइएको छ। यति छोटो अवधिमा ज्यान गएको विराटनगरको यो पहिलो रेकर्ड हो।