बुर्किना फासो, माली र नाइजरलाई एक अर्ब ७० करोड डलर मानवीय सहयोग

५ कार्तिक २०७७, बुधबार

संयुक्त राष्ट्रसंघ

चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यस वर्ष झण्डै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार सन् २०२१ का लागि समेत ७० करोड उपलब्ध गराउन दातृ निकाय सहमत भएका छन् ।

राष्ट्रसंघका प्रवक्ता स्टेफानी डुजारिकले उक्त सहायताबाट बुर्किना फासो, माली र नाइजरका एक करोड भन्दा बढी मानिसलाई सहयोग पुग्ने बताउनुभयो । पोषण, खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी र सरसफाई, अस्थायी आवास, शिक्षा, संरक्षण र लैंगिक हिंसा पीडितका लागि उक्त रकम खर्च हुने पनि प्रवक्ता डुजारिकले बताउनुभयो ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ, डेनमार्क, जर्मनी र युरोपेली युनियनद्वारा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै मध्य साहेल क्षेत्र अहिले चरम जोखिमको अवस्थामा रहेको र तीनै देशका जनताहरु अहिले मानवीय संकटमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा स्थिति तिब्र रुपमा कमजोर हुँदैछ, आम मानिसको दैनिक जीवन संकटमा छ ।

हिंसा बढेको बढ्यै छ, र खासरुपमा महिला एवं बालिकाहरु जोखिममा छन् । आन्तरिक विस्थापन दुई वर्षयता निकै बढेको छ । जलवायु परिवर्तनले मानिसको जीविकामा असर परेको छ र कोभिड–१९ ले अझ संकट बढाएको छ ।” राष्ट्रसंघका मानवीय प्रमुख मार्क लोककले विश्वमै साहेल क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको बताउँदै बुर्किना फासो, माली र नाइजरमा ५० लाखभन्दा बढी बालबालिका सहित एक करोड ३० लाखभन्दा बढी मानिसलाई आपतकालीन सहायता जरुरी रहेको बताउनुभयो ।

महासचिव गुटेरेस र लोककले दुबैले सन् २०२० र २०२१ का लागि २ अर्ब ४० करोड डलरका लागि दातृ निकाय समक्ष अपिल गर्नु भएको थियो । राष्ट्रसंघका प्रवक्ता डुजारिकले दातृ निकायहरुले ९८ करोड ५० लाख यस वर्ष सन् २०२० का लागि र सन् २०२१ का लागि ७० करोड ४० लाख उपलब्ध गराउन सहमति जनाएको बताउनुभयो ।

राष्ट्रसंघका अनुसार, स्वीट्जरल्यान्डले सबैभन्दा बढी ४६ करोड ४१ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्तराज्य अमेरिकाले २७ करोड ४८ लाख, डेनमार्कले १८ करोड ३१ लाख, युरोपेली युनियनले १२ करोड २८ लाख र जर्मनीले ११ करोड ८२ लाख उपलब्ध गराउने बताएका छन् ।