विराटनगरका फाेहाेर संकलकहरू भन्छन् – हामी डस्टविन बाहेका फाेहाेर उठाउने हाेइनाैँ (भिडियाे)

फोहोर संकलकहरू भन्छन् - हामी डस्टबिन बाहेकका फोहोर उठाउन आएका होइनौं

५ कार्तिक २०७७, बुधबार
तस्वीर- हाम्राे विराटनगर

स्वाब संकलनमा व्यस्त हुने जैन भवन अघि फोहोरै फाेहाेर

विराटनगर । कार्तिक ०५

मोरङको विराटनगर – ७ मा रहेको व्यस्त सडक मेनरोड एरिया अहिले फोहोरका डङ्गुरले भरिएको देखिन्छ। सयौं सवारी तथा हजारौंको आवतजावत हुने उक्त सडक पेटीमा अनेकौं फोहोर देखिन्छ तर कसैले वास्ता गरेका छैनन्।

अझ मुख्य कुरा त जैन भवनको छेउमा रहेको सो सडक भएर दैनिक सयौं कोरोनाको स्वाब दिन ओहोरदोहोर गर्ने गर्दछन्। जैन भवनमा सयौंको स्वाब परीक्षण हुँदै आएको छ।

नगरपालिकाको फोहोर लिने गाडी पनि न आउने होइन तर संकलकहरूलाई डस्टबिनमा भएको खासै मेहनत गर्नु नपर्ने खालको फोहोर टिप्न जाँगर चल्छ। व्यस्त सडकमा हिँड्ने हजारौं यात्रुले फोहोर फाल्नका लागि कुनै डस्टविनहरू नभएपछि सडकमै फालिदिएर हिँड्ने गरेका छन् ।

वरिपरी पसलहरू रहेको सो सडकमा फोहोर थुप्रिएको हप्तौं भयो तर सरसफाइ भएको छैन। महानगरको गाडीलाई व्यापारीहरूले राखेको टपक्क टिप्ने खालको फोहोर मात्र लैजान मन पर्ने स्थानीय व्यापारीहरू बताउँछन्।

कतिपटक त्यो फोहोर पनि लगिदिनुस् भनेर आग्रह गर्दा उनीहरू ” हामी सडकको फोहोर टिप्न आएका होइनौं” भन्ने खालको प्रतिक्रिया दिएर फोहोर नटिपी जाने गरेको व्यापारीहरू बताउँछन्।

हामी केही व्यापारीहरू मिलेर फोहोरलाई एकत्रित गरेर प्रतीक्षामा बस्यौं तर नगरपालिकाको गाडीले त्यता हात नलगाएको एक व्यापारीले बताए।

महानगरले विभिन्न शीर्षकमा स्थानीय तथा व्यापारीहरूबाट कर लिने गरेको छ जसमा सरसफाइ बापत हजारौं तिर्नुपर्छ।

एकातिर कोरोना संक्रमणको पीर छ भने अर्कोतिर फोहोरबाट हुनसक्ने अनेक रोगको संभावना तीव्र देखिन्छ। यसबारे सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।