शनिबारबाट क्लीन फीड लागू हुने, आइपीएल लगायत खेल हेर्न नपाइने

६ कार्तिक २०७७, बिहीबार

काठमाडौं । कार्तिक ०६

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने विषय आउँदो शनिबारबाट कार्यान्वयनमा आउँदैछ । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू हुने भएको हो।

पर्सी शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन बज्ने छैन। पोहोर कार्तिकमा संसदले पारित गरेको राजपत्रमा क्लीन फीड लागू गर्ने प्रावधान उल्लेख थियो।

नवनियुक्त सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार शनिबारबाट सो प्रावधान लागू हुनेछ भने मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरेको छ। उक्त बोर्डले क्लिन फिड लागू भए नभएपको अनुगमन गर्नेछ भने आइतबारबाट विज्ञापन बज्यो भने उक्त सेवा प्रदायकलाई कारबाही वा खारेजीसम्म कारबाहीको दायरामा ल्याइने छ।

बोर्डका अध्यक्ष मन्त्रालयका सहसचिव डिल्लीराज शर्मा छन्। नेपाली विज्ञापन बजारका लागि यो कोसेढुङ्गा सावित हुने बताइएको छ।

 

यद्यपि क्लान फिडका कारण ९० प्रतिशत च्यानल स्वतः बन्द हुने व्यवसायीहरूको आँकलन छ। जसमा स्टार च्यानल, कलर्स, बीबीसी, सीएनएन लगायतका च्यानल प्रसारण हुँदैनन्। डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार सोनीको हकमा भने क्लिन फिडका लागि छलफल भइरहेको छ।

 

स्टार च्यानल, सोनी, कलर्स, बीबीसी, सिएनएन जस्ता च्यानल प्रसारण नहुने संभावनाका बीच जारी इन्डियन प्रिमियर लिग (आईपीएल), यूईएफए च्याम्पियन्स लिग, इङ्लिस प्रिमियम लिग जस्ता खेलकुदको लाइभ समेत हेर्न नपाइने भएको हो। टेकपानामा यसबारे विस्तृत समाचार प्रकाशित छ।