विराटनगरका बजार क्षेत्रमा साँझमा पनि फोहोर मैला उठाइने

६ कार्तिक २०७७, बिहीबार

विराटनगर । कार्तिक ०६

मोरङको विराटनगर महानगरपालिकाका बजार क्षेत्रमा साँझमा सतेत फोहोर संकलन गरिने भएको छ। बिहान मात्र फोहोर संकलन हुँदै आएकोमा चाडपर्वमा बजार क्षेत्रमा चाडपर्वले भीडभाड बढ्ने तथा प्रदूषणको संभावना रहेकाले फोहोर व्यवस्थापन गरिने भएको हो।

वेस्ट म्यानिजमेन्ट ग्रुप नेपाल प्रा.लिले विराटनगरको फोहोर व्यवस्थापन गर्दै आएको छ। उक्त म्यानेजमेन्टले फोहोर गर्ने प्रवृत्ति बढेको भन्दै फोहोर गरेको देखिए कारबाही गरिने पनि बताएको छ। महानगरपालिकाको फोहोर मैला ऐन २०६८ बमोजिम कारबाही हुने प्रालिका फोहोर मैला परियोजना प्रमुख देवी आचार्यको भनाइ छ।

यद्यपि बुधबार हाम्रो विराटनगरमा फोहोर संकलकहरूले डस्टवीनमा नभएका फोहोर न उठाएको र विराटनगरको व्यक्त मेन रोड खण्ड तथा जैन भवन अगाडि फोहोर थुप्रिएको बारे समाचारै प्रकाशित गरेको थियो।

चाडपर्व नजिकिएपछि बजारमा भीडभाड बढेको छ भने फोहोर पनि सोही मात्रामा उत्सर्जन भइरहेका छन्। राजधानीको रूपमा रहेको विराटनगरका लागि सडक सरसफाइ पनि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ।

गत २०७३ सालदेखि महानगरको सरसफाइ जिम्मा पाएको प्रालिले २४० जना जनशक्ति खटाएको छ भने २५ वटा ट्रयाक्टर र २५ ट्राइ साइकल व्यवस्था गरेको छ।

प्रालिलाई महानगरबाट प्रतिमहिना ११ लाख ४० हजार रकम प्राप्त हुन्छ भने स्थानीय घरधुरी तथा पसलबाट २ सयदेखि ५ सयसम्म सेवाशुल्क लिने गरेको छ।

मासिक ४० लाख बराबरको बजेटबाट सञ्चालित उक्त फोहोरमैला व्यवस्थापनमा महानगरले ३२ जना कर्मचारी काजमा खटाएको छ। विराटनगरमा मात्र दैनिक ९० टनसम्म फोहोर संकलन हुँदै आएको छ ।