हङकङ-तरहरा मञ्चद्वारा खेलाडी तथा प्रशिक्षकलाई सम्मान

६ कार्तिक २०७७, बिहीबार

इटहरी । कार्तिक ०६

सुनसरीको इटहरी – २० मा रहेको हङकङ-तरहरा मञ्चले इटहरी २० का दुईजना खेलाडी तथा एकजना प्रशिक्षकलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच खेलाडीहरुलाई सम्मान गरेको हो ।

हङकङ तरहरा मञ्चको आयोजना र लिबरल सोसाइटीको संयोजनमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

तरहरामा रहेको सगरमाथा खेल मैदानमा आयोजना गरिएको एक कार्यक्रममा १३ औँ सार्क खेलमा पुम्से विधामा नेपाललाई स्वर्ण पदक जिताउन सफल तरहराकी सुशीला राईलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो ।

त्यस्तै २०१९ अगष्टमा भारतको कलकतामा भएको साफ च्याम्पियनसीप खेलमा नेपालबाट अन्डर फिप्टिन बाट उत्कृष्ट खेल खेलेर नेपाललाई जिताउन सफल भएका असीम राईलाई पनि नगद १५ हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

०५५ मा आठौँ सार्क खेलमा रितु राई (तरहरा) नेपाललाई स्वर्ण पदक र ०७६ मा १३ औँ सार्क खेलमा सुशीला राईलाई स्वर्ण पदक जिताउन उत्कृष्ट प्रशिक्षण गर्ने कुलबहादुर गुरुङलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ लगायत आमन्त्रित अतिथिहरुले उनीहरुलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर तरहरामा निर्माणाधीन कबर्ड हलका लागि सहयोग रकम समेत हस्तान्तरण गरिएको छ । हङकङ तरहरा मञ्चका अध्यक्ष कालसिंह राईले हङकङमा सहयोग जम्मा गरेर पठाएको नगद ४ लाख १८ हजार ११ रुपैँया नगद हस्तान्तरण गरिएको थियो ।

 

कार्यक्रमबारे बोल्दै वडाध्यक्ष श्रेष्ठले आँफूहरुको थुप्रै काम गर्ने योजना रहेकोभएपनि सार्वजनिक जग्गा नहुँदा समस्या हुँदै आएको बताए । ‘तरहरालाई राम्रो बनाउँनका लागि युवाहरुले आफ्नो उर्वर समय खर्च गर्नुभएको छ । यो सराहनीय हो,’ उनले भने, ‘कबर्ड हल निर्माणका लागि वडाले २० लाख रुपैँया बजेट छुट्याएको छ ।’

ब्याडमिन्टन कबर्ड हल निर्माण समितिका अध्यक्ष नारन गुरुङले आँफूहरुले ऋण काढेर काम सुरु गरेको र अहिले सहयोग जुट्ने क्रममा रहेको बताए ।

 

उनले भने, ‘दुईवटा कबर्ड हुन्छ, एकचरणमा ८ जना खेल्न मिल्छ । आपतबिपद् पर्दा वा अन्य समयका लागि तीन सयजना मानिस अट्ने हल समेत निर्माण हुँदैछ ।’

 

उनले उक्त भवन सार्वजनिक सम्पत्ति रहेकाले अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको बताए । ५० लाख लागतमा निर्माण हुँदै आएको भवनको केही काम भने बाँकी रहेको उले बताए ।

 

कार्यक्रममा लिबरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवानले तरहराका युवाहरुले खेल क्षेत्रका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले यहाँको खेल क्षेत्रको उत्थानका निम्ति आँफूहरु सक्रिय हुने तर्क गरे ।