किसानको करोडौँ भुक्तानी दिन बाँकी अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा

७ कार्तिक २०७७, शुक्रबार

सर्लाही, ७ कात्तिक

उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको अन्नपूर्ण चिनी उद्योग धन्कौल सञ्चालनको तयारीमा रहेको छ ।

उद्योग प्रशासनका अनुसार यस वर्ष उद्योग समयमै सञ्चालनमा आउने भएको हो । उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन ।

उद्योगका उखु क्यान म्यानेजर अजित सिंहका अनुसार यस सिजन सुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको उनले बताए ।

गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको अन्नपूर्ण चिनी उद्योगको भनाइ छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका जिएम टेक्निसियन राजेन्द्र चौधरीले बताए ।

‘उद्योग कहिलेबाट सञ्चालन हुन्छ, हामीलाई थाहा छैन,’ उनले भने, ‘तर, सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार गर्दै छाैँ ।’

स्टोर म्यानेजर एचपी शुक्लाका अनुसार उद्योगको स्टोरमा पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस मौज्दात छ । उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको उनले बताए । ‘सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ,’ उनले भने, ‘हामीलाई भुक्तानी र स्टोरको सामान बिक्री–वितरणबारे कुनै जानकारी छैन ।’

यता उद्योगका मजदुरले काम गरेको तलबबापतको भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताए । ‘हामी यहीँ काम गरेर दुईछाक टार्छाैँ, छोराछोरीको पठनपाठन, औषधिउपचार सबै यसैबाट चलाएका थियौँ,’ उनले भने, ‘निकै समयदेखि काम गरेको पारिश्रमिक पाएको छैन, अब के खाने, परिवारलाई के खुवाउने ?’

यता उद्योगमा आएको विभिन्न समस्यका कारण किसानसँगै उद्योगका मजदुरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ ।

गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदुरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर अजित सिङले बताए । ‘यो कुरा उद्योगको केन्द्रीय कार्यलयसम्म पुगिसकेको छ,’ उनले भने, ‘भुक्तानीमा ढिलाइ भएको हो । तर, आज वा भोलिमै उनीहरूको भुक्तानी हुने खबर आएको छ ।’

यस अन्नपूर्ण चिनी उद्योगमा ९२ जना मजदुर कार्यरत छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म लगभग १८ लाख तलब भुक्तानी बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ ।

यता किसानले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने भनेका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएको उनीहरू उद्योगप्रति आक्रोशित छन् ।

अनुदानको खेल भएको महासंघको आरोप

अघिल्लो सिजनमा सञ्चालनमा आउन नसकेको उद्योग एक्कासि सञ्चालनको तयारी गर्नुले किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल हुन सक्ने नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले आशंका व्यक्त गरे ।

यत्रो समय किसानले संघर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासि करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने उनले बताए । ‘यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ,’ उनले भने, ‘हाेइन भने त्यहाँका किसानको अनेक बहानामा रोकेको उखुको भुक्तानी दिने हो भने खोइ त तयारी ?’

महासंघका अध्यक्ष मैनालीले उद्योगले अझै किसानको २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाडाैंबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

अन्नपूर्णसहित जिल्लामा तीनवटा चिनी उद्योग छन् । त्यसमध्ये गत सिजनमा हरिवनस्थित इन्दुशंकर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बग्दह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो ।