‘प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट’- गगन थापा

७ कार्तिक २०७७, शुक्रबार

कार्तिक ०७ । विराटनगर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी गुप्तचरसँगको भेटघाटले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट भएको आरोप लगाएका छन् ।

उनले भारतीय गुप्तचरसँग प्रधानमन्त्रीको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रूपमा प्रस्तुत गर्न नहुने बताए । शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्री ओलीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ देखिएको बताएका हुन् ।

बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ्ग (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेट शिष्टाचार भएको बताएका थिए ।

‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो,’ थापाले लेखेका छन्,’ प्रधानमन्त्रीको यस्तो गैर-राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ। यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।’

नेता थापाले लडाईंको समय (वार टाइम)बाहेक विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्री या राजनीतिक नेतृत्वको भेटलाई जायज मान्न नसकिनेे बताएका छन् ।