पथरी शनिश्चरेका नगर उपप्रमुख सहित ३८ जनामा संक्रमण 

७ कार्तिक २०७७, शुक्रबार

पथरी । कार्तिक ०७

मोरङको पथरी शनिश्चरे नगरकी उपप्रमुख सहित नगरका जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ दिन अघि कोशी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको स्वाबको आज आएको रिपोर्टमा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी र पत्रकार सहित समुदायका ३८ जनामा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

जम्मा १ सय १५ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको छ भने सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको रिपोर्ट यसअघि नै आइसकेको छ।

 

शुक्रबार देखिएको संक्रमणमा वडा नम्वर १ मा १४ पुरुष र ४ महिला, २ मा ३ पुरुष, ३ मा १ महिला १ पुरुष, ४ मा ४ पुरुष, ५ मा १ महिला, ७ मा १ महिला एक पुरुष, ९ मा ३ महिला १ पुरुष र १० मा २ पुरुष र १ महिला छन्। त्यस्तै कानेपोखरीका एक पुरुषमा पनि कोरोना देखिएको छ ।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्द नै थिए। यस लगत्तै दसैं सुरु भएपछि नगरका काम कारबाही प्रभावित बनेका छन्।

नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै संक्रमणको जोखिम हुनाले सजग रही चाडपर्व मनाउन आग्रह गरेका छन्।