इतिहासमै पहिलोपटक दसैंका बेला शक्तिपीठहरूमा ताला

संस्कृतिविद्हरू भन्छन् - यो शुभ संकेत होइन

८ कार्तिक २०७७, शनिबार
तस्विर : अमुल अचार्य

विराटनगर। कार्तिक ०८

नेपालको धार्मिक इतिहासमा पहिलो पटक दसैंका बेला देशभरका शक्तिपीठहरूमा ताला झुण्डिएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नेपालका शक्तिपीठहरूमा यो पाली नवरात्रका कुनै पनि कृत्यहरू हुन पाएनन्।

नेपाललाई वैदिक सनातन धर्मको मूलस्थल भनेर चिनिन्छ। यहाँ पूर्वको ताप्लेजुङकी पाथिभरा मातादेखि पश्चिम अछामकी भम्केनी धामसम्म शक्तिपीठहरू रहेका छन्। सप्तरीकी षखडादेवीदेखि उत्तर सोलुखुम्बुकी जालपादेवीसम्म बन्द छन्।

गत चैत्रदेखि यता सात महिनासम्म चलेको निषेधाज्ञाले प्राशासनिक, आर्थिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू ठप्पै बन्न पुगे। चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोनाले सिङ्गो विश्व तहसनहस बनिरहँदा सम्पूर्ण राष्ट्रहरू लकडाउन र निषेधाज्ञाद्वारा कैद भए।

विश्व स्वास्थ्य संगठनले जारी गरेको निषेधाज्ञासम्बन्धी सूचनाकै कारण अधिकांश मुलुकले वकडाउन धेल्न पर्यो। यसबाट नेपाल जस्ता विकासोन्मुख तथा गरीब राष्ट्रहरू उठ्नै नसक्ने गरी थला परे।

 

नेपाल सरकारले आर्थिक गतिविधि शून्य भएको भनी अन्य मुलुक जस्तै अन्ततः लकडाउन खोलेर आर्थिक गतिविधि सञ्चालन थालेपनि धार्मिक मठ मन्दिर तथा शक्तिपीठ र अन्य धार्मिक गतिविधिमा भने निषेध कायमै छ। धर्मशास्त्र तथा हाम्रा पुरातन पद्धतिमा अध्यात्मसँग मानव जीवनको अविच्छिन्न सम्बन्ध रहेको कुरा बताइदै आएको छ।

कुनै विपत्ति वा महामारीमा समेत दैवी उपासनाद्वारा अनिष्ट निवारण गरिएका उल्लेख्य उदाहरणहरू पाइन्छन्। भोजपुरका आबाल ब्रह्मचारी षडानन्द होऊन् वा स्वर्गद्वारी महाप्रभू, योगी नरहरिनाथ होऊन् वा खप्तड बाबा सबैले अनेक धार्मिक गतिविधिले राष्ट्र समुन्नत बनाउन भगीरथ प्रयत्न गरिरहे। आज तिनै शक्तिपीठहरूमा न कुनै पर्वमा शंख बज्न सकेको छ न घण्ट!

राजनीतिक दलहरूका आमसभा चलिरलेका छन्। कुनै संस्थामा सरकार स्वयं आयोजक बनेर कार्यक्रमहरू गरिरहेको छ। पालना गर्ने भनिएको मापदण्डको एक रत्ति अंश त्यता देख्न भने पाइएको छैन। सार्वजनिक सवारीदेखि हवाइजहाज खुलेको छ। बजार पसल तथा चौक सबै मानिसको भीडले भरिभराउ छ।

यौटा चौतर्फी विरोधको आवाज पनि गुञ्जिरहेको छ – धार्मिक गतिविधिमा सरकार किन अनुदार बनिरहेको छ? दसैं वगायत चाडपर्वमा उति भीडभाड नगर्न भनिरहेको सरकारले आफैं तामझाम गरेर कार्यक्रम गरिरहेको छ। दैवी भूमिको रूपमा चिनिएको राष्ट्रमा भएका हजारौं शक्तिपीठहरू अहिले सुनसान छन्।

विराटनगरको काली मन्दिर पनि चैतदेखि नै बन्द छ। दसैंको बेला नित्य पूजा बाहेक सर्वसाधारणलाई मन्दिर जान रोक लगाएका कारण यहाँका सर्वसाधारणहरू मन्दिर बाहिरै पूजा-दर्शन गरिरहेको कारुणिक दृश्य देख्न सकिन्छ। संसारको जुनसुकै कुनामा जस्तो अवस्थामा रहेपनि आध्यात्मिक चेत भने मानिसमा हराउँदैन। यसैको उदाहरण स्वरूप विराटनगरको काली मन्दिरमा प्रशासनको निषेधका बीच जम्मा भएका सर्वसाधारणको भीडले जनाउँछ। मन्दिरको व्यवस्थापन समितिका अनुसार भक्तजनहरूको भीड बढ्दो क्रममा छ।

तस्विर : अमुल अचार्य

धरानको दन्तकाली मन्दिरमा पनि पूर्वबर्षहरूमा झैं दसैंको रौनक छैन। त्यहाँ नित्य पूजा मात्र गरिरहेको प्रमुख अर्चक कमल भट्टराई बताउँछन्। प्रत्येक बर्ष दसैंमा एक लाख भन्दा धेरै भक्तजनको उपस्थिति हुने गरेको दन्तकालीमा पहिलो पटक सुनसान भएको भट्टराई बताउँछन्।

दसौं हजार पशु बलि दिइने पर्साको गढिमाई, सप्तरीको षखडा भगवती, ताप्लेजुङको पाथिभरा, धनकुटाको छिन्ताङदेवी, उदयपुरको चौदण्डीदेवी, रौतामाई, सप्तरीकै कङ्कालिनी, मोरङको रंगेलीको संसारी माई लगायत देशभरका शक्तिपीठहरू सुनसान छन्। नेपालको धार्मिक इतिहासमा जस्तोसुकै विषम परिस्थिति आएपनि यसरी शक्तिपीठहरू रित्ता थिएनन्।

यो अझ अनिष्टको संकेत हुनसक्ने संस्कृतिविद्हरूको चेतावनी-

देशभरका शक्तिपीठहरू बन्द भई धार्मिक कृत्य हुन नपाउनु अध्यात्मका दृष्टिले देशमा अनिष्ट र दारिद्र्यको संकेत रहेको संस्कृतिविद् दीपक पराजुली बताउनुहुन्छ। आस्था अनास्था आफ्ना ठाउँमा छन् तर शक्तिपीठहरूले देशको सर्वत्र कल्याणको कामना गरिरहेका हुन्छन्। हरेक स्थलमा हुने यज्ञ-यागादिले मानवमा सकारात्मक प्रभाव पारिरहेको हुँदा त्यो क्रम नै भङ्ग भएको हुँदा मानिसहरूमा बुद्धि-भ्रान्ति भएर देशलाई अझ अनिष्ट हुनसक्ने वहाँको तर्क छ।

संचारकर्मी तथा संस्कृतिविद् चक्रपाणि गौतमका अनुसार राज्यले अझ बढावा दिएर यस्ता कर्महरू सञ्चालन हुनुपर्नेमा उल्टै रोक लगाउँदा यसले नकरात्मक प्रभाव पार्नसक्छ। भूगोल अनुरूप संस्कृति सोही प्रकारले रहने हुँदा हाम्रो ठप्प आध्यात्मिक गतिविधिले शुभ संकेत गरिरहेको गौतमको भनाइ छ। उसै त संसारमा मानवताका कुरा हराएर आतङ्क मच्चिरहेको बेला केही मात्रामा ‘संसारको जय’ को कामना गर्न सिकाउने वैदिक अनुष्ठान नै ओझेलमा पर्नु अशुभको संकेत रहेको वहाँको दाबी छ।

नेपालमा पुरातत्व विभागका अनुसार ५० हजार माथि देवालयहरू छन् भने हजार बढी ठूला शक्तिपीठ तथा धार्मिस्थलहरू छन्। यी संकटकालका बेला तिनीहरू सबैमा न शङ्ख ध्वनि गुञ्जिएको छ न दीप बलेको छ। कसैको दीर्घायु र उन्नतिमा दीप बालेर प्रार्थना गर्ने हाम्रो संस्कृति यतिबेला निभेको छ।

सबै गतिविधि सञ्चालन गरेको सरकारले स्वास्थ्य मापदण्ड अनुसार मन्दिर तथा देवालयहरू खुलाएको भए उत्ति संक्रमण सल्किइहाल्ने अवस्था पनि छैन। नागरिकहरू आफैं सचेत बन्दै गइरहेका छन्। यस्ता बेला संक्रमण बढेको नाममा देवालय तदा शक्तिपीठहरूमा लागेको तालाले सरकारको नियत त गलत छैन भन्ने उपशंकाहरू पनि जाग्न थालेका छन्। पर्यटन र अर्थतन्त्रमा आएको मन्दीका कारण खुला भएको देशमा मठ मन्दिरहरू ताला लाएर कुनै उपलब्धि हुने देखिँदैन। किनभने यो देशमा धार्मिक पर्यटनको तुलनामा अन्य पर्यटकीय उपलब्धि कम नै रहेको तथ्याङ्क पनि छँदैछ।