मोरङमा निषेधाज्ञा हुँदैन, ढुक्कले पर्व मनाउनुस्- प्रशासन

९ कार्तिक २०७७, आईतवार

विराटनगर। कार्तिक ०९

मोरङ जिल्लामा तत्काल कुनै पनि निषेधाज्ञाका कार्यक्रम बारे नसोचिएको जिल्ला प्रशासन मोरङले जनाएको छ। आइतबार सञ्चारकर्मीहरूसित बोल्दै सहायक जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले ढुक्कसँग चाडपर्व मनाउन आग्रह गरेका हुन्।

अहिले मोरङबासी जनता सचेत भएर धैर्यका साथ घरमै बसिरहेको र खासै भीडभाड पनि नदेखिएको र संक्रमण दर पनि मध्यम स्तरमै रहनाले निषेधाज्ञा बारे नसोचिएको खड्काले बताएका हुन्। उनले भने- ‘जनताको धैर्यको सम्मान गर्नैपर्छ, अहिलेसम्म सरकारी मापदण्ड पालना गरिरहनु हुने जनताप्रति प्रशासन सम्मान गर्छ। ‘

नागरिकहरू योभन्दा बढी भीडभाड गर्ने तथा मापदण्ड पालना नगरी नाका तथा बजार एरियातिर थुप्रिन थाल्दा प्रशासनले बाध्य भएर निषेधाज्ञा जारी गर्नुपर्ने परिस्थिति सिर्जना हुनसक्ने पनि उनले उल्लेख गरेका हुन्। खड्काले मोरङको प्रमुख केन्द्र विराटनगर भएको र यहाँबाट आवतजावत तथा आन्य गतिविधि धेरै हुने हुँदा नागरिकलाई सजग रही स्वास्थ्य मापदण्ड पूरा गरी चाडपर्व मनाउन आग्रह गरेका छन्।

अन्य जिल्लाका तुलनामा जनघनत्व बढी भएको मोरङ जिल्लाका नागरिक आफैं सचेत हुनुपर्ने र नाका तथा बजार पसलतिर अनावश्यक भीड नगर्न उनको सुझाव छ।