एकैदिन विराटनगरमा ६ जनाले ज्यान गुमाए

१५ कार्तिक २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । कार्तिक १५

गत २४ घण्टामा विराटनगरका विभिन्न अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् ।

नोबेल अस्पतालमा चार जनाको मृत्यु भएकाे छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया  महिलाको शनिबार बिहान मृत्यु भएको हाे । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कातिकमा अस्वताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको बताइएकाे छ ।

उता सुन्दरहरैँचा नगरपालिका-१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । गत १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याउँदा एम्बुलेन्समा मृत्यु भएको बताइएकाे छ। कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको पनि दाहालले जानकारी दिएका छन् ।

साथै विराटनगर-३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।  ती पुरुष कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिएका छन् ।

त्यस्तै उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार बिहान मृत्यु भएको छ । शुक्रबार अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिएका छन् ।