प्रदेश १ लाई अपाङ्गमैत्री बनाइन्छ : मुख्यमन्त्री राई

१४ मंसिर २०७७, आईतवार

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ । बाल अपाङ्ग टेवा सङ्घ काठमाडाँैद्वारा आज यहाँ आयोजित कार्यक्रममा अपाङ्ग भएकालाई ह्विल चियर वितरण गर्दै उहाँले प्रदेशमा निर्माण भइरहेका नयाँ संरचना अपाङ्गमैत्री रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार अपाङ्गमैत्री बनाउने सम्बन्धमा सचेत रहेको विचार राख्दै उनीहरुको सहयोगका लागि करुणा फाउन्डेसनमार्फत स्थानीयस्तरमा ठोस कार्यक्रम शुरु गरिएको बताउनुभयो । उहाँले प्रदेशमा अपाङ्गमैत्री कानून निर्माणमा ध्यान दिइने चर्चा गर्दै प्रदेशलाई ह्विलचियर मैत्री घोषणा गर्न वचनबद्धता व्यक्त गर्नुभयो ।

टेवा सङ्घका अध्यक्ष टेन्डी शेर्पाले प्रदेश सरकारले प्रत्येक स्थानीय निकायमा एक विद्यालयमा अपाङ्ग भएका लागि मात्र पठनपाठनको व्यवस्था गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएका नवराज कार्कीले फरक क्षमता भएकालाई सीपमूलक तालीमको स्थानीयस्तरमा सुविधा हुनुपर्नेमा जोड दिँदै उनीहरुलाई आवश्यक सामग्री सहज उपलब्ध गराउन आग्रह गर्नुभयो ।

ह्विलचियर फाउन्डेशन अमेरिकाको सहयोगमा मोरङ, सुनसरी र झापाका १५ जना अपाङ्ग भएकालाई आधुनिक ह्विलचियर वितरण गरिएको थियो । सङ्घले यसप्रकार ह्विलचियर आगामी दिनमा अन्य छ प्रदेशमा वितरण गर्ने जानकारी सोही अवसरमा दिइयो ।रासस