विराटनगरको कञ्चनबारीमा लहरीसँग एम्बुलेन्स ठोक्कियो, बिरामीको मृत्यु

१५ मंसिर २०७७, सोमबार

विराटनगर। मोरङको विराटनगरस्थित कञ्चनबारीमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डल छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्य तीनजना घाइते भएका छन्।

प्रहरीका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएपछि दुर्घटना भएको थियो।

साथै एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् ।

 

दमका दीर्घ रोगी मण्डलको स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि उपचारार्थ विराटनगर ल्याइँदै गरेको थियो तर अस्पताल पुग्न नपाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

अन्य तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लहरी तथा एम्बुलेन्स चालक दुवै फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।