आजदेखि सकियाे चतुर्मासा व्रत, विराटनगरकाे सत्यनारायण मन्दिर झिलिमिली

१५ मंसिर २०७७, सोमबार

विराटनगर । आज कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिक स्नान समाप्त हुने पूर्णिमा पनि भन्ने गरिन्छ।

आज भगवान् विष्णुकाे विशेष दिन मानिन्छ । विराटनगरकाे सत्यनारायण मन्दिर लगायत देशभरका मन्दिरमा भक्तजनकाे बाक्लाे उपस्थिति हुने दिन हाे । यद्यपि काेराेनाका कारण सुनसान बनेकाे सत्यनारायण मन्दिर झिलिमिली बनेकाे छ।

भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ। यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ। यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पुजा गर्ने विधान छ। शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणहरूमा छ।

यो दिन बराहक्षेत्रमा मेला लाग्ने दिन पनि हाे । यस पूर्णिमालाई नेपाल भाषामा सकिमना पून्हि भनिन्छ।

साेमबार नै नै शिख धर्मका प्रवर्तक नानकको जन्मजयन्ती पनि मनाइएकाे छ ।

 

 यस्ताे छ पूर्णिमाकाे महत्व

पूर्णिमा तिथि अर्थात् चन्द्रमा पूर्णरूपमा देखिने दिन हाे । सबै औँसीमा पितृकार्य खास गरिएजस्तै देवीदेवतासम्बन्धी अनुष्ठानका लागि भने पूर्णिमाको विशेष महिमा छ।

चन्द्रमाको १६ वटा कला हुन्छन् । ती कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ। चन्द्रमा पूर्ण भएको तिथि नै पूर्णिमा हो।

वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन्। हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ।

महिनाको एउटाको हिसाबले वर्षमा बाह्रवटा पूर्णिमा हुन्छन्। चैत्रशुक्ल प्रतिपदामा संवत्सर (नयाँ वर्ष) आरम्भ हुने भएकोले चैत्रशुक्ल पूर्णिमालाई नै पहिलो पूर्णिमा मानिन्छ। चान्द्रमानको पात्रोअनुसार महिनामा शुक्ल र कृष्ण गरी दुई पक्षका १५\१५ गरी ३० दिन  हुन्छन्।