Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

प्रदेश राजधानी विराटनगरमा खुलेआम फस्टाउँदै यौन धन्दा

2021-01-08 09-01 | Kishor Bishwokarma                  

A+ A A-

विराटनगर, २४ पुस । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो समय यौन धन्दा फस्टाउँदै गएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण हालसम्म सीमा बन्द रहेपनि भारतीय नागरिकलाई लक्षित गर्दै विराटनगरमा यौनधन्दा फस्टाउँदै गएको हो ।

कोरोना माहामारी सुरु हुनु पूर्व कुनै समय विराटनगरका होटलहरुमा छ्याप्छ्याप्ती यौन धन्दा हुने गरेको थियो । तर, कोरोना महामारी सुरु भएसँगै यौनजन्य गतिविधि ठप्प जस्तै थियो । तर, पछिल्लो समय फेरी होटल तथा रेस्टुराँ व्यवसाय समान्य रुपमा चल्न थालेपछि यौन जन्य गतिविधि बढ्दै गएको पाइएको हो ।

यतिबेला विराटनगरका विभिन्न होटल, लज, तथा रेष्टुराँहरुमा खुलेआम यौनधन्दा हुनेगरेको छ । विराटनगरको रोडशेष चोकदेखि दक्षिण तर्फ सवैभन्दा बढी होटल तथा रेष्टुराँ व्यवसायको आवरणमा छ्याप छ्याप्ती खुलेआम यौनधन्दा हुनेगरेको पाइएको हो ।

विगतमा प्रहरीले बेलाबेलामा छापा मारेर यौनधन्दा ठप्प पारेपनि यतिबेला सो विषयमा चासो नदेखाएको स्थानीयले बताएका छन् । विराटनगर वसपार्कदेखि भारतसँग सीमा जोडीएको जोगवनीसम्म भारतीय नागरिकहरुलाई लक्षित गरि खोलिएका होटल, लज तथा रेष्टुराँहरुमा खुलेआम यौनधन्दा हुनेगरेको एक स्थानीयले हाम्रो विराटनगरलाई बताए ।

स्थानीय प्रशासनबाट होटल, गित गजल, डान्स बार तथा रेष्टुराँहरुको अनुगमन तथा नियन्त्रण हुन नसक्दा यौनधन्दा फस्टाउँदै गएको छ । कतिपय दर्ता समेत नभएका होटल, लज, गित गजल, रेष्टुराँ तथा डान्स बारहरुको आवरणमानै यौन अखडा चलाउने गरेको पाइएको छ । स्थानीयका अनुसार त्यस्ता होटल, डान्स बार तथा रेष्टुराँहरुमा पुग्ने ग्राहकहरुलाई ठगिसमेत गर्ने गरेका छन् ।

‘प्राय सवै रेष्टुराँ र होटलहरुमा खुलेआम यौन धन्न्दा भइरहेको छ । सीमा बन्द रहेको भएपनि भारतीय नागरिकहरु मनोरञ्जनका लागि लुकिछिपि आइरहेका छन् ।’ एक स्थानीयले हाम्रो विराटनगरसँग भने,‘उनीहरुकै अगाडी प्रहरीको गाडी जान्छ, प्रहरी गस्तिमा हुन्छ तर वास्ता गर्दैन । प्रहरीकै आँखा सामुन्ने यौन धन्दा भइरहेपनि केही नगरेपछि मिलेमतो होकि भन्ने हाम्रो आशंका छ । नत्र त पक्रिनुपर्ने हो नी ।’

उनका अनुसार पछिल्लो समय सो क्षेत्रमा यौनधन्दाका लागि सञ्जालनै विस्तार भएको छ । त्यस्ता होटल तथा रेष्टुराँमा पहिलो पल्ट जाने ग्राहकले यौन धन्दाबारे मेलो पाउन सक्दैनन् । होटल तथा रेष्टुराँ सञ्चालकहरुले ग्राहकसँग सम्पर्कका आधारमा यौनकर्मी युवती तथा महिलाहरु राखेर यौन अखडा चलाउने गरेका छन् । मलाया रोडको होटेल ह्याभेन डोर, पायल रेष्टुरेन्ट एण्ड बार, आशिका होटल, मेन्स हेभेन्स रेष्टुरेन्ट एण्ड पप नाइट गित गजललगायत दर्जनौँ होटल तथा रेष्टुराँहरुले यौनकर्मी राखेर यौन अखडा चलाउने गरेको श्रोतले जनाएको छ ।

‘होटल र रेष्टुरेन्ट खुल्लै भएपनि नयाँ मान्छेलाई खाजा वा मदिरा खान होटलमा छिर्न खोज्दा हत्तपत्त छिर्न दिँदैनन् । नयाँ मान्छे देखेको खण्डमा केहीपनि छैन भन्दै फर्काउँछन् ।’ एक स्थानीययले हाम्रो विराटनगरसँग भने,‘कन्ट्याक्टकै आधारमा उनीहरुले होटल, रेष्टुराँ, गित गजल र डान्सबारको नाममा यौन धन्दा चलाइराखेका छन् । कतिपयले त होटल र रेष्टुरेन्ट दर्तासमेत नगरि चलाइराखेका छन् ।’

त्यस्ता होटल तथा रेष्टुराँहरुले यौनजन्य गतिविधिका लागि अलग्गै कोठाहरुसमेत लिएर यौन अखडा चलाएको र ग्राहकरुसँग मोटो रकम अशुल्ने गरेको श्रोतले जनाएको छ । यौनधन्दा चलाएका होटल, डान्स बार, गित गजल तथा रेष्टुराँहरुले ग्राहकहरुसँग दोहोरो फाइदा समेत लिने गरेको पाइएको छ ।

उनीहरुले ग्राहकहरुसँग सेवा दिने युवती तथा महिलाहरुलाई प्रयोग गरेर खाजा, सन्याक्स तथा पेय पदार्थको मुल्य तोकिएको भन्दा सयौँ गुणा बढी लिने गरेका छन् । ‘ग्राहक छिरेपछि सेवा दिन टेबुलमा उत्तेजक अवस्थामा युवतीहरुलाई पठाउँछन् । अनि उनीहरुले हामीलाई पनि ख्वाउनुस न भन्छन् । बिल तिर्ने बेलामा यवतीको सर्भिससहित भनेर एउटा रेडबुलको ५ सय, वियरको १५ सय रुपैयाँम्म ठटाउँछन् ।’ श्रोतले भन्यो,‘उनिहरुले भनेको मुल्य नदिएको खण्डमा धम्क्याउनेसम्मका हर्कत गर्छन् । त्यसपछि युवतीसँग पैसामा सहमति भएपछि यौन धन्दा हुन्छ ।’

सो क्षेत्रमा विषेश गरेर नेपालीका लागि भन्दा पनि भारतीय नागरिक तथा पर्यटकलाई लक्षित गरेर यौन धन्दा चलाउने गरेको पाइएको छ । अझ रोचक त के छ भने भारतीय नागरिकले अनुमति बिनै कतिपय होटल तथा रेष्टुराँहरु खोलेर यौन धन्दा चलाएको पाइएको छ ।

त्यसो त भारतको बिहारमा मदिराको बेचबिखनमा रोक लागेपछि भारतीय नागरिकहरु मदिरा सेवानका लागि नेपाल तर्फ आउने गरेका थिए । भारतीय नागरिक मदिरा सेवनका लागि आउन थालेदेखि उनीहरुलाईनै लक्षित गरि विराटनगरको दक्षिणी क्षेत्रमा यौन धन्दा सुरु भएको थियो । सोही कारण सो क्षेत्रमा प्रशस्त होटल, गित गजल, डान्स बार तथा रेष्टुराँहरु सञ्चालनमा आएका हुन् । नेपाली बजारमा मदिराको मात्रै होइन, देह कारोबार पनि मौलाएको थियो ।

तर, कोरोना माहामारीका कारण गत चैत ११ गतेदेखी सीमा सिल गरिएपछि भने त्यस्ता होटल, गित गजल, डान्स बार तथा रेष्टुराँहरुको धन्दा ठप्प थियो । तर यतिबेला नेपाली बजार क्रमशः सामान्य अवस्थामा फर्कन थालेपछि विराटनगरको दक्षिणी क्षेत्रमा यौनधन्दा पुनः फस्टाउदै जान थालेको छ ।

सीमा बन्द भएपनि यतिबेला भारतीय नागरिकहरु लुकिछिपिका साथै अनेक बाहानामा नेपाल आएर यौन र मदिराको प्यास मेटाउन थालेका छन् । पछिल्लो समय यौन धन्दा सञ्चालन हुने त्यस्ता अखडाहरुमा निकै चहलपहल बढेको छ । यतिबेला दैनिक सयौँको संख्यामा भारतीय नागरिकहरु यौन जन्य गतिविधिकै लागि त्यस्ता होटल तथा रेष्टुराँहरुमा आउने गरेको श्रोतले जनाएको छ ।

भारतको बिहार राज्यमा मदिरा कारोबारमा बन्देज लगाइएसँगै भारतीय मदिराप्रेमी ग्राहकको गन्तव्य नेपाली बजारहरु बन्न थालेको थियो । योसँगै देहको कारोबार पनि बढेको हो । पछिल्लो समय कोरोना संक्रमण नियन्त्रण उन्मुख भएसँग विराटनगरको दक्षिणी क्षेत्रसहित विभिन्न स्थानमा खुलेआम यौन धन्दा फस्टाउँदै आएको छ ।

प्रहरीले ति होटल तथा रेष्टुराँहरुमा निगरानी गर्न चासो नदिएको जन गुनासो व्यापक बढ्दै गएको छ । विगतमा जस्तो प्रहरीले छापा मार्ने र अनुगमन तथा नियन्त्रण हुन नसकेपछि उनीहरुले प्रहरीसँगकै मिलेमतोमा यौन धन्दा मौलाएको हुनसक्ने आशंका गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले पनि होटल तथा रेष्टुराँको आवरणमा देह व्यापार हुन सक्ने स्वीकार गरे । उनले अब चाँडै कडाइका साथ नियन्त्रण गरिने बताए । ‘होट तथा रेष्टुराँहरुमा देह व्यापार हुनेगरेकोमा पहिले पनि कारवाही गरिएको छ । त्यस्तो धन्दा हुनेगरेकोमा केही हदसम्म आंशिकरुपमा म पनि सहमत छु ।’ उनले हाम्रो विराटनगरसँग भने,‘रेष्टुरेन्ट तथा होटल व्यवसाय गरेर जिविकोपार्जन गर्न त पाईयो, तर गलत धन्दा गरेको फेला परेका दिन कानुनले छाड्ने छैन । देह व्यापारले समाजलाई हित गर्दैन र कानुनले पनि बर्जित गरेको छ । त्यसैले हामी तत्काल कडाइका साथ यसलाई नियन्त्रण गर्छौँ ।’

होटल तथा पेय पदार्थ व्यवसायी संघ मोरङ अध्यक्ष बलराम कारञ्जितले होटल तथा रेष्टुराहरुमा यौन जन्य गलत गतिविधि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘गलत धन्दा गर्नेहरुले शुद्ध व्यवसाय गर्नेलाई पनि बद्नाम गराएका छन् । त्यस्तालाई कानुनी कारवाही हुनै पर्छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘सरकारी पक्षबाट अनुगमन तथा नियन्त्रण हुन नसकेपछि गलत धन्दा फस्टाएको हो । हाम्रो तर्फबाट नियन्त्रणका लागि राज्यलाई सहयोग गर्न तयार छौँ ।’


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय