सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

४ माघ २०७७, आईतवार

विराटनगर, ४ माघ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजेको समयमा सुसनरीको इटहरी–आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

धरानबाट इटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम याख्खाको मृत्यु भएको छ ।

चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२(०४१ प ४९७१ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका याख्खाको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।