ठूलो मात्रामा खैरो हेरोइनसहित ९ जना पक्राउ

७ माघ २०७७, बुधबार

प्रहरीले ठूलो मात्रमा लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ का सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दीपक राई, इलाम–२ मालापथका केसाङ योल्म, मनाङको ङिस्याङ गाउँपालिका–३ का टासी सन्डुप गुरुङ र पाँचथर फालेलुङ गाउँपालिका–८ भीमप्रसाद लोवा छन् ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–३ का दिनेश कमाल, सोही स्थानका ४३ वर्षीय सन्तोष सापकोटा, भद्रपुर नगरपालिका–१० राजेश श्रेष्ठ र इलाम माई जोगमाईका ३६ वर्षीय सोनाम कागतेलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पाँच सय ३६ ग्राम खैरो हेरोइन एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ र अमेरिकन डलर ६ हजार एक सय बरामद गरेको ब्युरोको एसएसपी दिलीपकुमार चौधरीले जानकारी दिएको छ ।  उनीहरू लागुऔषध कारोबारी भएको र यसको सञ्जाल ठूलो भएको भन्दै अन्यको खोजी भइरहेको ब्युरोले जनाएको छ ।