विराटनगरका ब्यापारी रोहित पारख करोडौंको ठगि गरि फरार

७ माघ २०७७, बुधबार

विराटनगर, ७ माघ । विराटनगरका ब्यापारी रोहित पारख करोडौंको ठगि गरि फरार भएका छन । आफैंले अर्कालाई बहालमा दिएको गोदाममा राखिएकोे माल सामग्रीसमेत आफ्नो भनी बैंकलाई देखाएर बैंकबाट करोडौं कर्जा निकाली उनी सम्पर्कविहीन भएका हुन् । विराटनगरको शनिहाटमा बस्दै आएका ब्यापारी पारख बैंक र स्थानीय ब्यापारीलाई ठगि गरि फरार भएका हुन् ।

पारखले विराटनगरस्थित एनआईसी बैंकबाट साढे ६ करोड कर्जा निकाली फरार भएका हुन । मोरङको कटहरी गाँउपालिका ४ मा रहेको आफ्नो जग्गा र गोदाम पारखले विराटनगरकै ब्यापारिक प्रतिष्ठान शिव भगवती ट्रेडर्सलाई बहालमा दिएका थिए । शिवभगवतीले विगत ९ बर्षदेखि पारखको जग्गा र गोदाम भाडामा लिएर आफ्नो ब्यापार गर्दै आएको छ ।

यतिखेर पनि शिवभगवती ट्रेडर्सको १० करोड बढीको गहुँ र मकै पारखको गोदाममा थन्किएको अवस्था छ । तर पारखले बैंकका कर्मचारीसँग मिलेमतोगरि आफ्नो नाममा रहेको जग्गा र गोदामको साथै शिवभगवतीले भण्डारण गरिराखेको खाद्यान्नपनि बैंकलाई आफ्नै भन्दै साढे ६ करोड कर्जा निकाली फरार भएका छन् । पारख फरार भएपछि उनलाई कर्जा प्रवाह गर्ने एनआईसी बैंक र शिवभगवती ट्रेडर्सले कारोबार गर्दै आएको एनसीसी बैंकले समेत गोदाममा ताला लगाई दिएको छ ।

यतिखेर कटहरीको सो गोदाममा मालधनि र दुईवटा बैंकको गरी ३ वटा ताल्चा लगाइएको छ । कानूनी प्रवाधान अनुसार भाडासम्बन्धि सम्पूर्ण प्रक्रिया पूरा गरेर आफुले गोदाम प्रयोग गर्दै आएकोमा पारखले आफुहरुको मालसमेत बैंकलाई आफ्नो भन्दै देखाएर कर्जा लिएर फरार भएको शिवभगवती ट्रेडर्सका साझेदार श्रवण अग्रवालले बताए ।

बिगत बर्षनै आफुहरुले गहुँ र मकै भण्डारण गरीराखेको अवस्थामा बेच्नुपर्ने समयमा बैंकहरुले गरेको कर्जा प्रवाहको बिषयलाई लिएर ताला लगाइएदिएपछि खाद्यान्न कुहिएर खेर जाने अवस्था सृजना भएको उनले गुनासो गरे ।

पारख फरार भएको थाहा पाएपछि उनलाई हचुवाको भरमा कर्जा प्रवाह गर्ने एनआईसी बैंकले पौष ३ मा ताला लगाएको थियो भने शिवभगवतीलाई कर्जा प्रवाह गर्ने एनसीसी बैंकले पौष ८ मा ताला लगाएको जनाइएको छ । शिवभगवती ट्रेडर्सले यसअघिदेखी नै एनसीसी बैंकबाट कर्जा लिएर कारोबार गर्दै आएकोमा पारखले गएको महिनामात्र आफ्नो नाममा रहेको गोदाम र शिवभगवतीको माल समेत देखाएर कर्जा निकाल्न सफल भएका थिए ।

कर्जा थापे लगत्तै उनि सपरिवार शनिहाटस्थित घरबाट पलायन भएका थिए । यसअघि यो घर उनकै स्वामित्वमा रहेपनि डेढ बर्षअघि यो घरसमेत उनले बेचिसकेको जनाइएको छ । पारख विराटनगरबाट पलायन हुँदा समेत सोहि घरको भुईतल्लामा भाडामा बस्ने उनका नातेदारहरुले आफुहरुले थाहा पाउन नसकेको दाबी गरेका छन ।

पारखले अर्काको माल देखाएर एनआईसी बैंकबाट निकालेको कर्जाको बिषयलाई लिएर ब्यापारी बृतमा निकै शंका उपशंकाहरु ब्यक्त भईरहेका छन । उद्योग ब्यापारलाई नेतृत्वगर्ने संघसंस्थाका प्रतिनिधिले समेत कर्जा प्रवाहमा लापरवाही गरिएको दाबी गरेका छन । कतिपयले एनआईसी बैंककै कर्मचारीसंगको मिलेमतोमा पारखले अर्काको माल देखाएर कर्जा निकाल्न सफल भएको बताईरहेका छन । एनआईसी बैंकको केन्द्रीय कार्यालय कर्जा विभाग प्रमुख अर्जुन खनियाँले कर्जा प्रवाहका बिषयमा छानविन गरिने बताएका छन् ।

बैंक तथा ब्यापारी झुक्याएर पारख फरार भएको बिषयमा विभिन्न कुराहरु सतहमा आईरहेका छन । पारखले विराटनगरकै कतिपय ब्यक्तिसंग मिटरब्याजमा रकम लिएको र त्यो तिर्न नसकेपछि बैंक कर्मचारीलाई प्रभावमा पारी अर्काको माल समेत राखेर रकम लिएर फरार भएको हुनसक्ने पारखलाई नजिकबाट चिन्ने ब्यक्तिहरुले बताएका छन् ।