विराटनगरको रारा बचत तथा ऋण सहकारी सम्पर्कविहिन, बचतकर्ताहरुबीच खैलाबैला

८ माघ २०७७, बिहीबार

विराटनगर, ८ माघ । विराटनगरस्थित रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो मुख्य कार्यालय बन्दगरि सम्पर्कबिहीन भएपछि निक्षेपकर्तामा आशंका उत्पन्न भएको छ । रकम भुक्तानी दिनेभनेर बोलाएको सहकारीले कार्यालय बन्द गरेपछि निक्षेपकर्ताहरु सहकारी भागेको भन्दै उजुरीको प्रक्रियामा गएका छन ।

विराटनगर वडानम्बर ७ को शनिमन्दिर रोडमा कार्यालय रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले माघ ८ गते आफ्ना बचतकर्तालाई रकम भुक्तानी दिने भनेर बोलाएको थियो ।

म्याद पुगेका दर्जनौं बचतकर्तालाई रकम फिर्ता दिन बोलाइएपनि सो सहकारीको कार्यालय पुग्दा कार्यालयमा ताला लागेको देखेपछि निक्षेपकर्तामा खैलाबैला मच्चिएको छ । यसअघि देखिनै आफ्नो बचतको रकम लिन सो सहकारीको कार्यालय धाईरहेका बचतकर्ताले पछिल्लो समय बोलाइएको दिनपनि सहकारी बन्द रहेको पाएपछि आक्रोशित र आशंकित भएका हुन ।

विना सूचना कार्यालय बन्द भएको पाएपछि उनिहरु आफुले गाँस काटेर जम्मा गरेको रकम डूब्ने हो कि भन्ने चिन्तामा छन । कार्यालय बन्द भएको बिषयमा कुनैपनि जानकारी थाहा पाउन नसकेका निक्षेपकर्ता सहकारी बिरुद्ध उजुरीदिन बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जानकारी थाहा पाउन नसकेका कारण जिल्ला प्रहरी कार्यालयमा उजुरीका लागि पुगेको विराटनगर–९ का निक्षेतकर्ता रितेशप्रसाद साहले बताए ।

विराटनगर ९ का साहले आफुले मात्र सो सहकारीमा ३ लाख ९८ हजार रकम जम्मा गरेपनि म्याद पुग्दापनि सहकारीले दिन नमानेको बताए । डेढ महिना अघिदेखीनै म्याद पुगेका बचतकर्ताको रकम भुक्तानी नदिएको सहकारीले पछिल्लो मितिमा कार्यालय समेत बन्द गरेर संचालक तथा कर्मचारीहरु निक्षेपकर्ताहरुसंग सम्पर्कविहीन भएपछि उनिहरु जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन ।

विराटनगर महानगरपालिका र कटहरी गाँउपालिकाका सयौं खुद्रा ब्यापारीहरुले सो सहकारीमा रकम जम्मा गराउदै आएको निक्षेपकर्ताहरुले बताएका छन । विराटनगर–८ का विश्व मगरले आफुले नियमित बचत गर्दै आएको बताए ।

सर्वसाधारण खुद्रा ब्यापारीले मात्र नभई अपाङता भएका कारण मागेर जिविकोपार्जन गर्दै आएका विराटनगर ५ कंचनबारीका मोहम्म कलिमले समेत उक्त सहकारीमा ११ हजार ८ सय रकम जम्मा गरेका छन् । घरघरै डुलेर मागेर ल्याई जम्मा गरेको रकम लिएर सहकारी भागेको थाहा पाएपछि उनि अन्य निक्षेपकर्तासंगै जिल्ला प्रहरी पुगेका थिए । आफुले बुढेसकालमा कामलाग्ने भन्दै पेट काटेर रकम जम्मा गरेपनि सहकारी भागेपछि अब के गर्ने भन्ने चिन्तामा रहेको बताए ।

सहकारीका अध्यक्ष शेरबहादुर थापा मगरले भने सहकारी भागेको भन्ने हल्ला निराधार रहेको दावी गरे. । उनले सहकारीले प्रवाह गरेको ऋण समयमा उठ्न नसकेका कारण निक्षेपकर्तालाई रकम तिर्न समस्या भएको बताए । आउदो सोमबार देखि बचतकर्ताहरुको रकम फिर्ता दिन शुरु गर्ने उनले बताए ।